
रुकुम पश्चिमका झण्डै २ हजार घर परिवार भाडाको घरमा रहेको पाइएको छ । जनगणना २०७८ अनुसार जिल्लाका कुल ३७ हजार ३ सय ३ घरपरिवार रहेकामा ५.३ प्रतिशत अर्थात १ हजार ९ सय ६७ परिवार भाडाको घरमा वस्दै आएका छन् ।
९४ प्रतिशत अर्थात ३५ हजार १ सय ४९ परिवारको भने आफ्नै घर रहेको छ । ०.३ प्रतिशत संस्थागत रुपमा र ०.२ प्रतिशत अन्य रुपमा बसिरहेको जनगणनाले देखाएको छ । भाडामा बस्ने परिवार सबैभन्दा बढी मुसिकोट नगरपालिकामा रहेका छन् ।
नगरपालिकामा कुल ८ हजार ६ सय ९३ परिवार रहेकामा १४.४ प्रतिशत अर्थात १ हजार २ सय ५२ परिवार भाडाको घरमा बस्छन् । ८५ प्रतिशत अर्थात ७ हजार ३ सय ८९ परिवारको आफ्नै घर छ । मुसिकोटमा ०.४ प्रतिशत संस्थागत र ०.१ प्रतिशत अन्य रुपमा बसोवास गरिरहेका छन् ।
आठबीसकोट नगरपालिकामा कुल ७ हजार ५ सय ५५ घरपरिवार रहेकामा ९७.१ प्रतिशत अर्थात ७ हजार ३ सय ३२ परिवारको आफ्नै घर छ भने २.७ प्रतिशत अर्थात २ सय ३ परिवार भाडाको घरमा छन् । ०.०३ प्रतिशत संस्थागत र ०.२ प्रतिशत अन्य रुपमा बसिरहेका छन् ।
चौरजहारी नगरपालिकामा ३.३ प्रतिशत घरपरवार भाडमा बस्छन् । कुल ६ हजार ८ सय ३७ परिवार मध्ये २ सय २६ परिवार भाडाको घरमा छन् । ६ हजार ५ सय ५६ अर्थात ९५.९ प्रतिशतको आफ्नै घर छ । ०.६ प्रतिशत संस्थागत र ०.२ प्रतिशत अन्य रहेका छन् ।
त्रिवेणी गाउँपालिकामा १ सय ३५ प्रतिवार भाडामा छन् । कुल ४ हजार ३ सय ८ परिवारमा ४ हजार १ सय ६२ परिवारको आफ्नै घर छ । बाँफिकोटमा ८३ परिवार भाडाको घरमा छन् । कुल ४ हजार ६ सय ७ परिवारमा १.८ प्रतिशत परिवार मात्र भाडाको घरमा छन् । ९७.५ अर्थात ४ हजार ४ सय ९३ परिवारका भने आफ्नै घर छन् ।
जिल्लामा सबैभन्दा कम भाडामा बस्ने परिवार सानीभेरी गाउँपालिकामा छन् । सानीभेरी गाउँपालिकामा भाडामा बस्ने ६८ परिवार मात्र रहेका छन् । यो कुल परिवार संख्याको १.३ प्रतिशत मात्र हो । गाउँपालिका भरमा कुल ५ हजार २ सय ९२ परिवार रहेकामा ९८.६ प्रतिशत अर्थात ५ हजार २ सय १७ परिवारको आफ्नै घर छ ।
त्यस्तै जिल्लामा औसतमा प्रतिपरिवार ४.४७ जना सदस्य रहेका छन् ।