कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्याय अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका गाउँसभाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले गरिबी अन्त्य गरेर आर्थिक सम्पन्नता हासिल गर्ने र सामाजिक न्याय अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको हो ।
संविधानमै समाजवाद उन्मुख व्यवस्था भनिएकोले समाजवादमा पुग्न खुसी र सुखी नेपाली हुनुपर्ने उहाँले बताउनुभयो । खुसी र सुखी समाज निर्माणका लागि गरिबी अन्त्य हुनुपर्ने उहाँको भनाई छ । ‘हाम्रो सबैभन्दा ठूलो दुश्मन गरिबि हो, यसमा प्रदेश सरकार स्पस्ट छ, उहाँले भन्नुभयो–एकातिर गरिबी अन्त्य गरेर आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ भने अर्कोतिर सामाजिक न्यायको मुद्दा छ, अझैपनि समाजमा विभिन्न हिंसा, विभेद कायमै रहेको छ त्यसकारण अहिलेको मुख्य प्राथमिकता भनेकै यि दुई हुन् ।’
त्यस्तै उहाँले कर्णालीमा अझैपनि बजेट, कर्मचारी लगायतको उपलब्धताको हिशावले संघीयता आउन नसकेको बताउनुभयो । अहिलेपनि प्रदेशमा ११ सय बढी कर्मचारी अभाव रहेका कारण भने अनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । ‘हामीसंग ठूलो संख्यामा कर्मचारी अभाव छ, कानूनको अभाव छ, संघले सबै अधिकार दिएको छैन्, जसका कारण जनताले अनुभूत गर्नेगरी काम गर्न समस्या भएको छ,’ उहाँले भन्नुभयो ।
साथै उहाँले कर्णाली प्रदेशमा योजना बैंक नहुँदा समस्या भएको बताउनुभयो । जसका कारण बजेट तथा योजना व्यवस्थित गर्न र जनताका आवश्यकता प्राथमिकरण गर्न समस्या भएकोले बजेट विनियोजन गर्दा अप्ठेरो भइरहेको उहाँले बताउनुभयो । साथै उहाँले शिक्षामा मुख्य समस्या रहेको बताउनुभयो । २०२८ कै शिक्षा ऐन लागु भइरहेको र कतिपय कानून त्यो भन्दा पनि अघिको भएकोले अहिलेको आवश्यकता अनुसार काम गर्न मुश्किल भएको उहाँले बताउनुभयो ।
शिक्षालाई प्रविधिसंग जोडेर लिन आवश्यक रहेको भन्दै उहाँले यसका लागि प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताउनुभयो । हिजोको तुलनामा स्वास्थ्यमा प्रगति हासिल गरेपनि रोग निवारणका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री शर्माको भनाई छ । रोजगारी सृजना गर्नका लागि प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । वार्षिक १० हजारलाई रोजगारी दिने योजना प्रदेश सरकारले बनाएको जानकारी गराउदै यो योजनाबाट एउटा वडाबाट १२ जना बढीले रोजगारी पाउने उहाको भनाई छ ।