Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा संघ नेपाल रुकुम पश्चिमद्धारा केन्द्रीय सदस्य डिल्लीराज शर्माको रिहाइको माग 

नेकपा एमालेको जनवर्गिय संगठन युवा संघ नेपाल रुकुम पश्चिमले संगठनका केन्द्रीय सदस्य डिल्लीराज शर्माको रिहाइको माग गरेको छ । प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै आवाज उठाउदा शर्मालाई प्रहरीले पक्राउ गरेको भन्दै युवा संघ नेपालले आज जिल्ला सदरमुकाम मुसिकोटमा प्रदर्शन गर्दै रिहाइको माग गरेको हो । 

पार्टी कार्यालय बागबजारबाट नारावाजी सहित युवा संघ र नेकपा एमालेका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । साथै संगठनले रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । युवा संगठन नेपाल रुकुम पश्चिमका अध्यक्ष नवराज मल्लले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । 

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना विरुद्ध भ्रम फैलाएको भन्दै विशाल शर्माले किटानी जाहेरी दिएपछि जिल्लाको चौरजहारी नगरपालिका ५ लहरेसिमलका शर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । शर्मामाथि जिल्ला अदालतबाट बुधबार १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । 

शर्मा लगायतले भ्रष्टाचार, वेतिथि, अनियमितताका विरुद्धमा आवाज उठाउने भन्दै केही समय अघि ‘सवाल जरुरी छ’ अभियानको घोषणा गरेका थिए । शर्माले चौरजहारी ५ को रेशम खोलामा विशाल शर्माको एम।बि। कन्ट्रक्सनले अवैध दोहन गरिरहेको भन्दै फेसबुक मार्फत आवाज उठाउदै आउनुभएको थियो । 

आफु एम।बि। कन्ट्रक्सनको प्रोप्राइटर नभएको र रेशम खोलामा एम।बि।कन्ट्रक्सनले कुनै काम नगरेको भएपनि अनावश्यक रुपमा आफ्नो नाम जोडि भ्रम फैलाएपछि बाध्य भएर कानुनी उपचार खोज्नुपरेको चौरजहारी नगरपालिकाका पूर्व प्रमुख समेत रहनुभएका विशाल शर्माले बताउनुभयो । सामाजिक सञ्जालमा एकोहोरो आफ्नो नाम जोडेर निरन्तर दुष्प्रचार गरिएको उहाँले बताउनुभयो । 

रेशम खोलामा एम।बि। कन्ट्रक्सनले कुनै काम नगरेको शर्माले बताउनुभयो । साथै उहाँले अर्को कुनै निर्माण कम्पनीले गरेको कामलाई जोडेर आफ्नो वेइजत गर्ने काम भएको बताउनुभयो । गल्ति भएको हो भने पनि कानुनी उपचार खोज्ने ठाउँ हुँदा हुँदै राजनीतिक अभीष्ट पुरा गर्ने उदे्श्यले आफु माथि एकोहोरो प्रहार भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update