
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । जंगलमा लागेको आगो गाउँतिर पसेपछि उक्त आगो निभाउने क्रममा ४५ वर्षिया सर्केनि दमाईको मृत्यु भएको हो । आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो । गाउँलेसंगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहिबार वडाको राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जन भन्दा बढी जंगलमा फैलिएको वडा सदस्य खड्काले बताउनुभयो ।
आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो छेकेर गाउँ बचाउने प्रयासमा स्थानीय जुटेका छन् । तर आगो नियन्त्रणमा आउन सकेको छैन् । स्थानीय सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कवुलियति वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा आगो लागिरहेको छ । त्यस्तै सानीभेरी गाउँपालिका ३ को ज्यामिरेमा रहेको वनमा पनि आगलागि भइरहेको बताईएको छ ।