
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको विस्तारित जिल्ला समिति बैठक आज बस्दै छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ मा अवस्थित सहिद प्रतिष्ठानको सभाहलमा बिहान १० बजेपछि बैठक सुरु हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जनाकारी दिनुभयो ।
देशव्यापी रुपमा संचालन हुन लागेको पार्टीको तीन महिने विशेष अभियानको कार्ययोजना निर्माणका लागि बैठक बस्न लागेको उहाँले बताउनुभयो । माओवादीले भदौ १६ गते देखि देशभरमा तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्न लागेको छ । आजको विस्तारित बैठकमा जुन अभियान जिल्लामा कसरी संचालन गर्ने भन्ने बारेमा कार्ययोजना निर्माण हुने संयोजक रोकाले बताउनुभयो ।
बैठकमा पार्टीका वडा कमिटी अध्यक्षदेखि केन्द्रसम्मका सबै नेताहरु, जवस÷मोर्चाका जिल्ला अध्यक्षदेखि केन्द्रसम्मका सवै नेताहरु, प्रदेश तथा केन्द्रिय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, पार्टीका पालिका सल्लाहकारहरु, जवसका पालिका अध्यक्षहरु, पूर्व जनमुक्ति सेनाका पालिका समितिदेखि माथिका सबै नेताहरुको सहभागिता रहने छ ।
जिल्ला बैठकपछि पालिकाको बैठक नहुने र सिधै वडामा जानुपर्ने संयोजक रोकाले बताउनुभयो । पालिकाको बैठक आवश्यकता अनुसार अभियानको बिचमा भने बस्न सकिने उहाँको भनाई छ ।