
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० चुनमा रहेको मालिका माविको खेल मैदान नेपाली सेनाको नरसिंह दल गणले मर्मत गरिदिएको छ । ‘सैनिक नागरिक सुमधुर सम्बन्ध बिकास कार्यक्रम अन्तरगत विद्यालयको भत्किएको खेल मैदान सेनाको टोलीले मर्मत गरेको हो ।
खेलकुद मैदान निर्माणका लागि दरसिंह दल गणका क्याप्टेन रबिनकुमार अधिकारीको नेतृत्वमा ४२ जनाको टोली ५ दिन सम्म खटिएको बिद्यालयले जनाएको छ । मैदान मर्मत गरिएपछि विद्यार्थीहरुलाई सहज भएको छ । गत वर्खामा भत्किएको मैदान मर्मतका साथै जोखिममा रहेको शौचालयलाई समेत सुरक्षित गरिएको छ ।
खेलमैदान र शौचालयको सुरक्षाका लागि तारजाली लगाईएको वडा सदस्य धनवहादुर खड्का बसन्तले जानकारी दिनुभयो । त्यस्तै सेनाले विद्यालयमा एउटा मञ्च पनि निर्माण गरिदिएको छ । यसैविच उक्त टोलीले मुसीकोट ६ झुल्खेतमा रहेको बालकल्याण मावि झुल्खेतमा प्रतिक्षालय निर्माण गर्नुका साथै खेलमैदान सरसफाई समेत गरेको छ ।