
रुकुम पूर्वमा विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ । दिवसको अवसरमा विभिन्न व्यक्तिहरु पुरस्कृत भएका छन् । दिवसको अवसरमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले सम्मान कार्यक्रम आयोजना गरेको छ । जसक्रममा उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको छ । १३ जना किसान, एक जना पत्रकार, एउटा सहकारी र दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।
किसान तर्फ तरकारी खेतीमा भूमे ३ का दिलबहादुर रोका, किबि खेतीतर्फ भूमे ५ का मोहनसिंह पुन, फलफूल खेतीतर्फ पुथाउत्तरगंगा गाउँपालिका ११ का कालीप्रसाद बुढा, मौरी पालनतर्फ सिस्ने ७ का कमानसिँह कुँवर, नर्सरीतर्फ भूमे ७ का झुपलाल ओली पुरस्कृत हुनुभएको छ ।
यसैगरी मसला तर्फ भूमे ८ का कपिल ओली, कुखुरापालन तर्फ भूमे ६ का अनिल बुढा, भैसिपालनतर्फ सिस्ने ५ का चन्द्राकुमारी बुढामगर चन्द, बंगुर पालनतर्फ सिस्ने ७ की ललिता थापा बुढा, बाख्रा पालन तर्फ भूमे ९ का बलबहादुर पुन र भेडा पालन तर्फ पुथा उत्तरगंगा गाउँपालिका १० का मनकुमार घर्ती पनि पुरस्कृत भएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
उत्कृष्ट कर्मचारीको रुपमा भूमे गाउँपालिका कृषि शाखामा कार्यरत विशाल पुन र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमा कार्यरत प्रशान्त सुनार पुरस्कृत हुनुभएको छ । पत्रकारिता मार्फत कृषि क्षेत्रमा योगदान गरेको भन्दै रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार निराजन शिर्पालीलाई पनि पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृष्ट कार्य गरेको भन्दै भूमे ३ को समृद्धि महिला कृषि सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको बताइएको छ ।