
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ३ सर्सुकाँडाका आगलागि पिडित ११ परिवारलाई राहात वितरण गरिएको छ । आज गाउँपालिका, वडा पालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाईटीले घटना स्थलमै पुगेर राहात वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले ८ घर परिवारलाई २० हजारका दरले राहात वितरण गरेको छ । वडाले प्रत्येक ११ परिवारलाई नै प्रति परिवार ३० केजिका ३ बोरा चामल, ३ लिटर तेल, २ केजि नुन र गाउँपालिकाले प्रतिपरिवार १ बोरा चामल, १ बोतल तेल, २ केजि दाल, १ केजि नुन र २ पिस साबुन वितरण गरेको छ ।
त्यस्तै वडाले ८ परिवारलाई ४ वटाका दरले कटौरा, ४ वटा थाली, १ कराई, १ डेक्चि, १ वटा गाग्री, २ अम्खरा, १ वटा डसना, सिरक र १ वटा बाँटा वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीले पिडित परिवारलाई विभिन्न गैरखाद्य सामग्रि समेत सहयोग गरेको छ । त्रिपाल, डोरी, बाल्टिन, डाडु, पन्यु लगायतका गैरखाद्य सामग्रि वितरण गरेको सेडक्रसकी सभापति रमा गौतमले जानकारी दिनुभयो । यसैविच आगलागि पिडितहरुलाई गाउँपालिकाले पनि प्रति परिवार १० हजार दिने घोषणा गरेको छ । २४ गते दिउँशो देखि लागेको आगो गाउँ पस्दा ११ घर तथा गोठ जलेर नष्ट भएका थिए ।
आगलागिबाट ४ घर परिवारको वर्षभरीमा बस्ने घर हुन भने ४ परिवारको केहि महिना बस्ने घर र २ गोठ रहेको बाँफिकोट ३ का वडाध्यक्ष चन्द्रवहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै आगलागि पिडितहरुका लागि आर्थिक सहयोग पनि संकलन भइरहेको छ । वडाध्यक्ष केसीका अनुसार अहिलेसम्म ९६ हजार रुपैंया संकलन भएको छ । अमेरिका र स्थानीय स्तरबाट गरी उक्त सहयोग रकम संकलन भएको बताईएको छ । सहयोग जुटाएर आगलागिबाट नष्ट भएका घर मर्मत गरी जस्ता पाता राख्ने प्रतिवद्धता वडाले जनाएको छ ।
जसका लागि सामुदायिक वनलाई काठका लागि आग्रह गरिएको र जस्तापाताको व्यवस्था गरी सबै घरमा जस्ता राखिने वडाध्यक्ष केसीले बताउनुभयो । आगलागिबाट विरभान पौडल, चन्द्रकला बोहरा, कमला बिक र रेशम रावलको परिवार बढी प्रभावित भएको छ । त्यस्तै कालिवहादुर बोहरा, अमृत बोहरा, मनसरी सार्की, ठगु ओलीका केहि महिना बस्ने घर नष्ट हुँदा लक्षिराम बुढाथोकी र टेकवहादुर बिकको गोठ जलेर नष्ट भएका छन् । लक्षिरामको मौरी समेत आगोबाट जलेको बताईएको छ ।