
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भूकम्प प्रभावित तीन जिल्लाका १६ स्थानीय तहका लागि बजेट पठाएको छ । मन्त्रालयले जाजरकोट, रुकुम पश्चिम र सल्यानको लागि दुई करोड ४५ लाख बजेट भूकम्प प्रभावित स्थानीय तहहरूमा पठाएको हो । राहत सामग्री खरिद तथा उद्धार प्रयोजनका लागि स्थानीय तहहरूमा वित्तीय हस्तान्तरणको रूपमामा बजेट पठाएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् व्यवस्थापन सम्पर्क हेर्ने व्यक्ति कृष्णबहादुर रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विपत् काे क्षति हेरेर स्थानीय तहहरूलाई ५ लाख देखि २५ लाख सम्म रकम पठाइएको छ । जसअनुसार जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकालाई समान २५ लाखका दरले रकम पठाइएको छ । जाजरकोटको कुशे गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा २० लाखका दरले रकम पठाइएको बताइएकाे छ ।
त्यस्तै सल्यानकाे दार्मा गाउँपालिका सल्यानलाई १५ लाख, जाजरकोटको छेडागाड नगरपालिका र जुनिचादे गाउँपालिकालाई १० लाखका दरले रकम पठाइएको छ। भूकम्पबाट कम प्रभावित जाजरकोटको शिवालय गाउँपालिका, रुकुम पश्चिमको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, सल्यान जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिन्डे नगरपालिकालाई समान ५ लाखका दरले रकम पठाएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनाएको छ ।