रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० तक र भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले शुक्रवार आज एकै दिन तक र खाबाङ बगरमा स्थापना गरिएको सस्तो पसल उद्घाटन गर्नु भएको हो ।
जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको छ । तक र खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि शुक्रवार आज एकै साथ उद्घाटन गरिएको हो । उक्त ठाउँबाट अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री खरिद गर्ने भएका हुन् ।
प्रदेश सरकारको कार्यविधि अनुसार जिल्लाका चार ठाउँमा सस्तो पसल सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । तक र खाबाङ बगरसँगै सिस्ने गाउँपालिका–२ नायगाड स्थित तिपतारा र वडा नम्बर ३ पोखरामा सस्तो पसल सञ्चालन गरिएको डाँगीले जानकारी दिनुभयो । तक र खाबाङ बगरमा आज देखि सञ्चालन गरिएको हो भने पोखरा र तिपतारामा बिहीबार हिजो देखि सञ्चालन गरिएको कार्यालय प्रमुख डाँगीले बताउनुभयो ।
सस्तो पसल सञ्चालनका लागि स्थानीय व्यापारीको प्रतिस्पर्धा मार्फत छनौट गरिएको छ । उक्त पसल सञ्चालनका लागि आवश्यक मापदण्ड अनुसार छनौट गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । तकमा कृष्ण किराना एन्ड फेन्सी स्टोर, खाबाङ बगरमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पोखरामा ओली गल्ला तथा किराना पसल र नायगाड स्थित तिपतारामा पारस सप्लायर्स छनौटमा परेका छन् ।
सस्तो पसल सञ्चालन छनौटका लागि यस अघि पसल व्यवसायले त्यस क्षेत्रमा सबै भन्दा सस्तो मूल्यमा उपभोक्तालाई बिक्री गरिराखेको पसल तथा व्यवसायलाई छनौट गरिएको छ । सस्तो पसल सञ्चालन गर्न जिम्मा पाएका व्यवसायीले अब सस्तो पसल सञ्चालन कार्यविधिले तोकेको मापदण्ड अनुसार छूट दिई बिक्री गर्नु पर्ने छ । जसमा बजारमा पाइने गरेको चामलको मूल्य भन्दा सस्तो पसलबाट प्रति किलोमा १० रुपैयाँ छूट पाउने घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सन्तोष मल्लले बताउनुभयो । यसै गरी नुन प्रति किलोमा ५ रुपैयाँ, तेलमा प्रति लिटर २० रुपैयाँ, दाल तथा गेडागुडीमा प्रति किलो दुई प्रकारको १० र २० रुपैयाँ, गहुँ र पिठो प्रति किलो २० र चिनी प्रति किलो १५ रुपैयाँ छूटमा बिक्री गरिने मल्लले जानकारी दिनुभयो ।
एक घर परिवारले एक महिनामा चामल ५० किलो, नुन २ किलो, तेल ७ लिटर, दाल ५ किलो, गहुँ तथा पिठो १० किलो र चिनी ५ किलो प्रदान गरिने छ । सस्तो पसलमा खाद्यान्न किन्न जाँदा साथमा घर मुलीको नागरिकताको फोटो कपी लग्नु पर्ने छ ।
![368194526_311855328417552_2697663779015986705_n1702037963.jpg](https://www.kakhara.com/uploads/posts/368194526_311855328417552_2697663779015986705_n1702037963.jpg)
सस्तो पसल उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, विशेष अतिथिमा पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुर बुढा मगर साथै सम्बन्धित गाउँपालिकाका वडाध्यक्ष तथा वडा सदस्य सहित स्थानीय बुद्धिजीवी तथा उपभोक्ताहरूको उपस्थिति रहेकोमा कार्यक्रमको सहजिकरण घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सन्तोष मल्लले गर्नु भएको थियो ।