Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा दिगो विकास सहित आयोजना समयमै निर्माण गराउन जिल्ला स्तरीय अनुगमन 
अनुगमन गर्दै अनुगमन टाेली ।

रुकुम पूर्वका विभिन्न आयोजनाको जिल्ला स्तरीय अनुगमन गरिएको छ । शनिवार जिल्लाको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाका विभिन्न ठाउँका सडक, भवन र निर्माणाधीन मोटरेबल पुलको अनुगमन गरिएको हो । सिस्ने गाउँपालिका–५ रुमालबारा देखि भूमे गाउँपालिका–९ चुनबाङ, चुनबाङ देखि भूमे–८ कोर्जा हुँदै दोमइ सडक खण्डमा पर्ने विभिन्न आयोजनाको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको संयोजकत्वमा विभिन्न आयोजनाको अनुगमन गरिएको हो । 

आयोजनाको दिगो विकास सहित समयमै काम सक्न जिल्ला स्तरीय अनुगमन गरिएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्रीले बताउनुभयो । अनुगमन टोलीले भौतिक निर्माण गरिराखेका ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव दिइएको बुढाक्षेत्रीले जानकारी दिनुभयो । 

रुकुमकोट–चुनबाङ र चुनबाङ–कोर्जा–दोमइ सडक खण्डमा सडकको अवस्थाबारे अनुगमन गरिएको छ । त्यसको साथसाथै उक्त सडक खण्डमा निर्माण भइरहेको चार वटा मोटरेबल पुल, चुनबाङमा निर्माण भइरहेको ५ शय्याको अस्पताल, निर्माण भइरहेको इलाका प्रहरी कार्यालय चुनबाङको भवन, नेपाल राष्ट्रिय मावि चुनबाङको निर्माणाधिन भवन, चुनबाङको युद्ध सङ्ग्रहालयका साथै स्वास्थ्य चौकी चुनबाङको सेवा प्रवाह अवस्थाबारे पनि अनुगमन गरिएको अनुगमन टोलीले जानकारी दिएको छ । 

निर्माण कार्यमा ढिला सुस्ती गरिराखेका ठेकेदार कम्पनीलाई दिगो विकास सहित समयमै काम सक्न निर्देशन दिइएको छ । जिसस प्रमुख श्रेष्ठको संयोजकत्वमा रहेको जिल्ला स्तरीय अनुगमन टोलीमा जिसस उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, निमित्त समन्वय अधिकारी बुढाक्षेत्री, सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालयका डीएसपी अन्जना श्रेष्ठ, सशस्त्र प्रहरीका डीएसपी होमराज न्यौपाने लगायत वडा स्थित जनप्रतिनिधि, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update