Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट आएको नगद राहत आठबीसकोटका मृतक परिवारलाई बाँडियो 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पमा परी मृत्यु हुने परिवारका सदस्यहरूलाई नगद राहत प्रदान गरिएको छ । अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको नेपाली समाज लाइभ चर्चले सङ्कलन गरेको रकम मृतक २८ घरपरिवारका सदस्यलाई प्रदान गरिएको हो । अमेरिकामा बस्दै आएका आठबीसकोट नगरपालिका निवासी गोपाल बटालाको नेतृत्वमा सङ्कलन भएको ६ लाख रकम आठबीसकोट नगरपालिकामा रहेको अयालोनस्थिर एजी चर्चको नाममा आएको थियो । 

उक्त रकमबाट मृतक परिवारका सदस्यहरूलाई चर्चमा बोलाएर १० हजारका दरले रकम प्रदान गरिएको पास्टर रमेशकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार २८ जना मृतक परिवारलाई १० हजारका दरले २ लाख ८० हजार रकम वितरण गरिएको छ । बाँकी रहेको ३ लाख २० हजार रकम नगरपालिका भित्र रहेका दिर्घरोगिहरुलाई वितरण गरिने बताइएको छ । विवरण सङ्कलन गरेर छिटै उक्त रकम हस्तान्तरण गरिने पास्टर शाहीले जानकारी दिनुभयो । 

भूकम्पबाट मृत्यु भएका र दिर्घरोगीहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सहयोग सङ्कलन गरेर पठाएको सङ्कलक बटालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update