Kakhara सबैको खबर सम्पूर्ण खबर
अस्थायी आवास निर्माण गर्न रुकुम पश्चिममा सेना परिचालन, भोली देखि सशस्त्र प्रहरी पनि परिचालन गरिने
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा खटिएकाे नेपाली सेनाकाे टाेली ।

गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प गएको एक महिना भन्दा लामो समय पछि आइतबारबाट प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा सुरक्षाकर्मी परिचालन गरिएको हो । 

पहिलो चरणमा आठबीसकोट नगरपालिकाका विभिन्न प्रभावित ठाउँमा ४० जना र सानीभेरी गाउँपालिकाका प्रभावित विभिन्न ठाउँमा ३५ जना गरेर जम्मा ७५ जना नेपाली सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी आवास निर्माण गर्न भोली थप १५ जना नेपाली सेना परिचालन हुनेछन् । सशस्त्र प्रहरीको समूह पनि भोलिदेखि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि परिचालन हुने उहाँले जानकारी दिनुभयो । 

"नेपाली सेनाको समूह मङ्सिर २४ गते देखि प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा खटिसकेको छ, सशस्त्र प्रहरीको टोली भोलि देखि परिचालन गर्ने निर्णय भएको छ, कति जना परिचालन गर्ने भोली थाहा हुन्छ, सुरक्षाकर्मीको टोली परिचालन गरेपछि अस्थायी आवास निर्माणले तीव्रता पाउने हामीले अपेक्षा गरेका छौ" सहायक प्रजिअ बढुवालले भन्नुभयो । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा  सक्रिय नेपाल प्रहरी भने निरन्तर प्रभावित खटिरहेको छ । अब भने नेपाली सेना तथा सशस्त्र प्रहरी पनि अस्थायी आवास निर्माणमा परिचालन भएपछि थप सहज हुने अपेक्षा गरिएको छ । 

जिल्लाभर २५ हजार लाभग्राही यकिन भए पनि विवरण सङ्कलनको काम जारी रहेकाले ३० हजार लाभग्राही पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरूले रुकुम पश्चिममा तीन हजार ६ सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएका छन् । भने अझै हजारौँ अस्थायी आवास निर्माण हुन बाँकी छन् । कति अस्थायी आवास निर्माण भए कति हुन बाँकी छन् यसको विवरण भने जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहहरूबाट आइसकेको छैन ।

अस्थायी आवास निर्माण गर्न लाभग्राहीलाई पहिलो किस्ता बापत २५ हजारका दरले १९ हजार नौ सय ३४ घरधुरीलाई ४९ करोड ८३ लाख ५० हजार रकम स्थानीय तहको विपत् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update