रुकुम पूर्वको भूमे गाउँपालिका २ र ७ नम्बर वडाको मारिङमा अतिथि गृह सञ्चालनमा आएको छ । भूमे गाउँपालिकाले स्थापना गरेको मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्रमा अतिथि गृह सञ्चालनमा ल्याएको हो । पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले अतिथि गृहको उद्घाटन गर्नुभयो । आर्थिक वर्ष २०७६/०७७ को स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ५० लाख बजेटबाट अतिथि गृह निर्माण भएको हो । अतिथि गृहमा एटेज बाथरुम सहित ४ कोठा सुत्ने कोठा छन् ।
अतिथि गृह उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य कमला रोकाले जनयुद्धकालदेखि नै महत्वको रुपमा लिइएको यस ठाउँमा बनेको अतिथि गृहले यसको विकासमा सहयोग पुग्ने बताउनुभयो । जनयुद्धको समयमा व्यवसायिक खेतीको अभ्यास गरिएको यो ठाउँमा अब कृषि अनुसन्धान र अध्ययन थलोको रुपमा विकास भएकामा खुसी व्यक्त गर्नुभयो । उपयुक्त ठाउँमा उपयुक्त संरचना बनाइएको भन्दै उहाँले अब यस अतिथि गृहबाट धेरै भन्दा धेरै लाभ लिने गरी गाउँपालिकाले पहल र प्रयास गरिराख्नुपर्ने बताउनुभयो ।
यस क्षेत्र र समग्र जिल्लाको समग्र विकासका लागि आफू लागिरहेको र थप पहलका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उद्घाटन कार्यक्रमलाई पूर्व मन्त्री दलजित श्रीपाली तथा लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओली, नेकपा माओवादी केन्द्र रुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँहरुले कृषि अनुसन्धान केन्द्र र यसमै बनेको अतिथि गृहले पर्यटन प्रबद्धनमा टेल पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आधुनिक तवरबाट उक्त भवन निर्माण बनाइएको छ । कृषिको खोज, अनुसन्धान, अध्ययन तथा अवलोकन गर्न आउनेहरुको सजिलोका लागि अतिथि गृह बनाइएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । प्राकृतिक रुपमै भ्यू टावरको रुपमा रहेको यो ठाउँबाट प्राकृतिक दृश्यावलोकनको साथै शान्त वातावरणमा आनन्द लिने गरी यो गृह बनाइएको अध्यक्ष बुढाले बताउनुभयो । यसका साथै कृषि र वन वातारणको थप अध्ययन र मनोरञ्जनात्मक क्षेत्रको रुपमा यसलाई विकास गर्न खोजिएको अध्यक्ष बुढाले बताउनुभयो ।
मारिङ सडक सञ्जालमा जोडिएको छ । सहिदमार्गबाट ९ किलोमिटर र मध्यपहाडी लोकमार्गबाट ८ किलोमिटर यात्रा गरेपछि मारिङ पुग्न सकिन्छ । २ हजार ६ सय मिटर उचाइमा रहेको मारिङ सम्पूर्ण दृष्टिकोणबाट पर्यटन घुम्नका लागि पनि उपयुक्त छ । मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि अनुसार नै यो अतिथि गृह सञ्चालन हुनेछ । समितिले नै अतिथि गृह सञ्चालन गर्नेछ । गृहमा बस्ने अतिथि, पाहुनाहरुबाट निश्चित सेवा शुल्क लिइने छ ।
त्यसबाट आएको आम्दानी तीन तिर बाँडिने छ । कुल आम्दानीको २५ प्रतिशत यहाँ कार्यरत कर्मचारी, २५ प्रतिशत सञ्चालक समिति र ५० प्रतिशत गाउँपालिकाको सञ्चित कोषमा जम्मा हुने छ । अनुसन्धान केन्द्र र अतिथि गृह सञ्चालनका लागि गाउँपालिकाले नै कर्मचारीको व्यवस्थापन गर्ने छ । उनिहरुले नै यसको सम्पूर्ण सञ्चालन गर्ने अध्यक्ष बुढाले बताउनुभयो ।