Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा नक्सा पास नगरी बनाइएका घर अभिलेखीकरण गर्नुपर्ने

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा नक्सा पास नगरी निर्माण गरिएका घर अभिलेखीकरण गर्नुपर्ने भएको छ । नगरपालिका क्षेत्र भित्र निर्माण भइसकेका तर घर नक्सा सम्बन्धी प्रक्रियामा नआएका भवनहरूलाई नियमन गर्न नगरपालिकाले अनिवार्य अभिलेखीकरण गर्नुपर्ने नियम बनाएको छ ।

बनिसकेका घरको नियमन र अब बन्ने भवनहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३४ र ४२ अनुसार नियमित र अभिलेखीकरण गर्न नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ बमोजिम मुसिकोट नगरपालिकाको 'पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८२' स्वीकृत गरेको छ । 

कार्यविधि पास गर्दै नगरपालिकाले मंसिर ८ गते एक सूचना जारी गर्दै यसअघि निर्माण भएका तर नक्सा पास नभएका घर अनिवार्य नगरपालिकामा अभिलेखीकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले जारी गरेको सूचनामा ३५ दिन भित्र अनिवार्य अभिलेखीकरण गर्न भनिएको छ । 

यसका लागि घर धनीको निवेदन, घरको नक्सा, ब्लु प्रिन्ट नक्सा, घर सम्पन्नको सिफारिस, चार किल्ला प्रमाणित, लाल पुर्जा, तिरो तिरेको रसिद, अमिनको सर्जिमिन मुचुल्का, नागरिकताको प्रतिलिपि र फोटो लाग्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

भवन संहिता अनुसार प्रक्रिया पूरा गरेर घर तथा भवन निर्माण हुनुपर्ने भए पनि मुसिकोटमा नियम अनुसार घर निर्माण हुने क्रम न्यून रहेको नगरपालिकाको तथ्याङ्कले देखाउँछ । जिल्ला सदरमुकाममै नक्सा पास लगायतका प्रक्रिया पूरा गर्ने क्रम न्यून रहेको नगरपालिकाकै भनाई छ । यसैलाई रोक्न कार्यविधि निर्माण गरेर कार्यान्वयन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update