Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई प्रेस युनियनको न्यानो कपडा

प्रेस युनियन केन्द्रीय कार्यसमिति द्वारा भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका पत्रकारलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । केन्द्रीय कार्यसमितिको टोलीले रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगेर प्रेस युनियन जिल्ला शाखालाई न्यानो कपडा हस्तान्तरण गरेको हो । आज पार्टी कार्यालय खलङ्गामा विपत् व्यवस्थापनमा प्रेस भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सोही कार्यक्रमको अवसरमा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नहकुल अर्याल, महासचिव दिलीप पौड्याल, उपमहासचिव कलम पन्थ, कोषाध्यक्ष माधव धिताल लगायतको टोलीले प्रेस युनियन जिल्ला शाखालाई न्यानो कपडा हस्तान्तरण गरेको हो । केन्द्रीय कार्यसमितिले २५ जना पत्रकारलाई पुग्ने गरी न्यानो कपडा उपलब्ध गराएको पेस युनियनका जिल्ला सचिव करण विकले जानकारी दिनुभयो । उहाँका अनुसार न्यानो कपडा अन्तर्गत ज्याकेट र कम्बल उपलब्ध भएको छ ।

केन्द्रीय कार्यसमितिबाट उपलब्ध भएको न्यानो कपडा प्रेस युनियन जिल्ला शाखाले छलफल गरेर केही पत्रकारहरूलाई आजै वितरण गरेको छ भने केही पत्रकारलाई वितरण गर्न बाँकी रहेको सचिव विकले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिले उपलब्ध गराएको न्यानो कपडा भूकम्प प्रभावित क्षेत्रमा खटिने पत्रकार तथा वास्तविक पीडामा रहेका पत्रकारलाई वितरण गर्न प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आग्रह गर्नुभएको छ ।

जुनसुकै बेला पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले भूकम्पको समयमा पत्रकारले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । पत्रकारले सत्य समाचार सम्प्रेषण गरेर सरोकारवालाई झकझक्याउन मदत गरेको भन्दै अध्यक्ष लम्सालले प्रशंसा गर्नुभएको हो । प्रेस युनियन जुनसुकै बेला पत्रकारहरूको साथमा रहेको पनि उहाँको भनाई थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update