Kakhara सबैको खबर सम्पूर्ण खबर
अचेत अवस्थामा उद्धार गरिएका बालकको मृत्यु 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिन्खेत नजिकै मुसिकाेट नगरपालिका १ काे बाँदर फट्का स्थित सानीभेरी नदी किनाराको भिरमा बिहीबार साँझ फेला परेका दुई बालक मध्य एकको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका २ पिपलका १३ वर्षीय सुभाष विकको बिहीबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले दुई बालकलाई भिरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरी बाँफिकोट गाउँपालिकाको एम्बुलेन्स मार्फत ती दुई बालकलाई जिल्ला अस्पताल सल्ले ल्याएको थियो । 

बाँफिकोट गाउँपालिका २ पिपलका १३ वर्षीय सुभाष  र सोही ठाउँकै १८ वर्षीय डिलु विकलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकाेमा सुभाषको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उनलाई अचेत अवस्थामा र डिलुलाई बोल्न सक्ने अवस्थामा उद्धार गरिएको खड्काले बताउनुभयो । उहाँका अनुसार साथमै रहेका डिलुलाई घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

बुधवार साँझ खलङ्गाबाट घर जाँदै गरेका उनीहरू बाटो बिराएर भिरमा पुगेको डिलुले बयान दिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 'दुवै जना खलङ्गाबाट सँगै गएको र बाटो बिराएर भीरमा पुगेको देखिन्छ, डिलु सुभाषलाई भीरमै छाडेर सो साँझ एक्लै घर गएको पाइएको छ, उनी भोलिपल्ट बिहीबार सुभाषको खोजी गर्न आएको देखिन्छ,' उहाँले भन्नुभयो । दुवै जनाले रक्सी सेवन गरेको, रक्सीको नसामा डिलु सुभाषलाई छोडेर एक्लै घर गएको र सुभाषको चिसोले ज्यान गएको हुनसक्ने उहाँको भनाई छ । सुभाष र डिलु भाइ भाइका छोरा हुन् । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update