Kakhara सबैको खबर सम्पूर्ण खबर
मग्मामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन, वार्षिक एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्गामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालनमा आएको छ । २०७५ सालबाट निर्माण सुरु भई २०७९ सालमा सम्पन्न भएको उच्च प्रविधियुक्त नर्सरी सञ्चालनमा आएको हो । निर्माण सम्पन्न पश्चात् बाँफिकोट गाउँपालिका ६ मा रहेको युवा सृजनशील कृषि तथा पशुपंक्षी फर्म र डिभिजन वन कार्यालय रुकुम पश्चिम बिच उच्च प्रविधियुक्त नर्सरी सञ्चालन गर्ने गरी १० वर्षे सम्झौता भएको छ । नर्सरी सञ्चालनको लागि फर्मका सञ्चालक समकृति पुन र डिभिजन वन कार्यालयका कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियार बिच १० वर्षे सम्झौता भएको हो । 

नर्सरी सञ्चालन गरे बापत वार्षिक रूपमा १८ हजार कर्णाली प्रदेश सरकारलाई राजस्व बुझाउने गरी सम्झौता भएको सञ्चालक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरी सञ्चालनको सबै खर्च फर्मले बेहोर्ने छ । यो नर्सरी करिब एक लाख बिरुवा उत्पादन गर्ने क्षमताकाे रहको बताइएको छ । जिल्ला भित्र सँगै कर्णाली प्रदेश भित्रका जिल्लालाई पुग्ने गरी बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको फर्म सञ्चालक पुनको भनाई छ । नर्सरीमा उत्पादन हुने बिरुवाले जिल्लालाई केही मात्रामा भए पनि आर्थिक रूपमा टेवा पुग्ने विश्वास गरिएको छ । 

412365778_7233491100006438_6015644804484684384_n1704370437.jpg

ओखर, टिम्मुर, किवी, सुन्तला लगायतका बिरुवा उत्पादन गर्ने गरी तयारी भइरहेको पुनले बताउनुभयो । उपभोक्ता समितिले नर्सरी सञ्चालन गर्न नसकेपछि निजी फर्मलाई जिम्मा दिइएको डिभिजन वन कार्यालयका कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीमा तापक्रम र वायुको आर्द्रता व्यवस्थापन गर्ने प्रविधि भएकाले बिरुवा उत्पादनमा सहज हुनेछ । नर्सरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक करोड लागतमा निर्माण गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update