
कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेशका तीन जिल्ला सुर्खेतको चौकुने गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र हुम्ला जिल्लामा ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु भएको हो ।
स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अब बन्ने पञ्चवर्षीय नीति कार्यक्रम बनाइने छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काले नागरिक स्वास्थ्य परीक्षणले ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । यसैबिच रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नागरिक स्वास्थ्य परीक्षण सुरु भएको छ ।
कार्यक्रमको सुरुवात गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका भित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरुवात गरिएको बताउनुभयो । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती ल्याएकाले त्यसको रोकथाम गर्न स्वास्थ्य परीक्षण थालिएको उहाँले बताउनुभयो ।
अहिले तीन जिल्लामा नमुनाको रूपमा परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा बिस्तार गरिने शर्माले बताउनुभयो । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको उहाँको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिलाई उपचारमा मात्र होइन सचेतनामूलक कार्यमा समेत प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । भूकम्प प्रभावित पालिकामा प्रदेश सरकारले स्वास्थ्यका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको मुख्यमन्त्री शर्माले बताउनुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट रहेको बताउनुभयो । आठबिसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको सहकार्यमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेत, रुकुम पश्चिम र दोस्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परीक्षण गरिने छ ।