Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा झन्डै साढे दश हजार अस्थायी आवास निर्माण 

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिना भन्दा बढी समय बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिलाको अवधिमा जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितहरूको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ वटा मात्र अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार दुई सय ८९, त्रिवेणी गाउँपालिकामा नौ सय ३८ र बाँफिकोट गाउँपालिकामा एक सय १७ गरेर जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवालले जानकारी दिनुभयो । 

हालसम्म जिल्ला विपत् व्यवस्थापन कोषबाट २३ हजार ६ सय आठ लाभग्राहीको लागि स्थानीय विपत् न्यूनीकरण कोषमा २५ हजारका दरले ५९ करोड दुई लाख रकम पठाएको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रकम प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २७ हजार छ सय ८२ लाभग्राहीहरूको प्रहरी लागत सङ्कलन भएको छ । सङ्कलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे तिस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update