Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम: पहिलो किस्ता गइसक्न अझै समय लाग्ने, दोस्रो किस्ताको टुङ्गो छैन 

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता गइसक्न अझै समय लाग्ने भएको हो । अहिलेसम्म जिल्लाबाट २३ हजार ६ सय आठ लाभग्राहीका लागि पहिलो किस्ता बापत २५ हजारका दरले स्थानीय तहमा गएको छ । पालिकामा गएको सबै रकम पनि लाभान्वितले पाउन सकेका छैनन् । 

जिल्लामा अझै करिब सात हजार बढी लाभग्राहीका लागि रकम पठाउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा करिब ३० हजारको हाराहारीमा अस्थायी आवास निर्माण गर्नुपर्ने भूकम्प प्रभावित रहको अनुमान गरिएको छ । 

‘अहिलेसम्म २३ हजार ६ सय आठ लाभग्राहीका लागि जिल्लाबाट रकम पठाइएको छ, स्थानीय तहले यो रकम पनि सबै वितरण गरिसकेका छैनन्, अझै सात हजारको हाराहारीमा लाभग्राहीलाई जिल्लाबाटै पहिलो किस्ता पठाउन बाँकी छ, उहाँले भन्नुभयो–जिल्लामा सबै भूकम्प प्रभावितले पहिलो किस्ता पाउन अझै समय लाग्ने देखिन्छ ।’ 

प्रहरी मुचुल्का बनिरहेको र त्यसका आधारमा स्थानीय तहले माग गरे अनुसार जिल्लाबाट रकम पठाउने गरिएको उहाँको भनाई छ । हालसम्म जिल्लामा २८ हजार लाभग्राहीको प्रहरी मुचुल्का बनिसकेको र ३० हजार पुग्ने अनुमान गरिएको छ । 

त्यस्तै भोली मात्र करिब पाँच हजार लाभग्राहीका लागि पहिलो किस्ता पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बताउनुभयो । आठबिसकोट नगरपालिकाबाट दुई हजार पाँच सय र सानीभेरी गाउँपालिकाबाट दुई हजारको हाराहारीमा लाभग्राहीको सङ्ख्या सिफारिस भई आएकोमा उनीहरूका लागि बुधवार पहिलो किस्ता पठाउने उहाँले जानकारी गराउनुभयो । 

जिल्लामा दोस्रो किस्ता पनि तत्काल वितरण नहुने देखिएको छ । दोस्रो किस्ताका लागि जिल्लाबाट माग गरिएको ६८ करोड बजेट नआएकोले तत्कालै दोस्रो किस्ता वितरण नहुने बुढवालको भनाई छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरिएको र प्राधिकरणबाट फाइल अर्थ मन्त्रालय पुगेको जानकारी आएको तर माग गरिएको करिब एक महिना पुग्नै लाग्दा पनि दोस्रो किस्ताको रकम नआएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार स्थानीय तहबाट समेत दोस्रो किस्ता माग भई नआएकोले अहिले भर्खरै दोस्रो किस्ता लाभग्राहीले पाउने अवस्था छैन । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले रुकुम पश्चिमका करिब ३० हजार बढी घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update