Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी १ का सीमान्तकृत भूकम्पपीडितलाई न्यानो कपडा वितरण 

रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई न्यानो कपडा वितरण गरिएको छ । युएन ओमनको आर्थिक सहयोग र विपत् व्यवस्थापन अध्ययन केन्द्रको सहजीकरणमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ का एक सय परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । भूकम्पबाट घर भत्किएर पाल मुनी बसिरहेका परिवारहरूलाई चिसोबाट जोगाउन राहत सामग्रीको रूपमा न्यानो कपडा वितरण गरिएको विपत् व्यवस्थापन अध्ययन केन्द्र रुकुम पश्चिमका जिल्ला कार्यक्रम संयोजक प्रविर ददेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवार आज सानीभेरी गाउँपालिकाको वडा नम्बर १ का गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका वडा नम्बर १ का सदस्य विमला विक रोकाले ज्येष्ठ नागरिक सशिली कामीलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यको बारेमा विपत् व्यवस्थापन अध्ययन केन्द्रका प्राविधिक सल्लाकार माधव अधिकारीले जानकारी गराउनुभएकाे थियो ।

कार्यक्रममा वडाका राजनीतिक दलका प्रतिनिधि, स्वयंसेवक, पत्रकार लगायतको उपस्थित रहेको थियो । भोली सानीभेरी गाउँपालिका वडा नम्बर २ का एक सय सीमान्तकृत समुदायलाई राहत वितरण गरिनेछ । विपत् व्यवस्थापन अध्ययन केन्द्रले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका वडा नम्बर १ र २ का साथै आठविसकोट नगरपालिकाको वडा नम्बर १३ र १४ का गरी पाँच सय घरपरिवारलाई राहत सामग्री वितरण गर्न लागेको विपत् व्यवस्थापन अध्ययन केन्द्रका जिल्ला कार्यक्रम संयोजक ददेलले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update