Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी २ गिठाकोटका एक सय घरलाई न्यानो कपडा वितरण

रुकुम पश्चिमका सानीभेरी गाउँपालिका वडा नम्बर २ गिठाकोटमा एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ । युएन ओमनको आर्थिक सहयोग र दलित महिला सङ्घ फेडो, विपत् व्यवस्थापन अध्ययन केन्द्र सिडिएमएसको  समन्वयमा राहत वितरण गरिएको हो । 

भूकम्पबाट घर भत्किएर पालमुनि बसी रहेका परिवारहरूलाई चिसोबाट जोगाउन राहत सामग्रीको रूपमा न्यानो कपडा वितरण गरिएको विपत् व्यवस्थापन अध्ययन केन्द्र रुकुम पश्चिमका जिल्ला कार्यक्रम संयोजक प्रविर ददेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर २ का गर्भवती, सुत्केरी,  ज्येष्ठ नागरिक, विपन्न परिवारलाई राहत सामग्रीको रूपमा न्यानो कपडा वितरण गरिएको हो ।

सानीभेरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मानबहादुर पुन, वडा सदस्य आशा दमाई, युएन ओमनका कार्यक्रम संयोजक समा श्रेष्ठले अपाङ्ग भएका व्यक्ति जमुना घर्तीलाई सामूहिक रूपमा राहत वितरण गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रममा दलित महिला सङ्घ फेडोका कोषाध्यक्ष रन्जु विश्वकर्मा, फोटो पत्रकार उमा विष्ट, नेपाल दलित सङ्घका जिल्ला सचिव झरना विक, कोषाध्यक्ष खीमा विक र सदस्य सरस्वती विकको लगायतको पनि आतिथ्यता रहेको थियो । 

कार्यक्रमको उद्देश्यको बारेमा  विपत् व्यवस्थापन अध्ययन केन्द्रका प्राविधिक सल्लाकार माधव अधिकारीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडाका राजनीतिक दलका प्रतिनिधि, स्वयंसेवक, पत्रकार लगायतको पनि उपस्थित रहेको थियो । 

विपत् व्यवस्थापन अध्ययन केन्द्रले रुकुम पश्चिमको रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका वडा नम्बर १ र २ का दुई सय परिवार सहित आठविसकोट नगरपालिकाका ३ सय परिवारलाई राहत वितरण गर्ने जिल्ला कार्यक्रम संयोजक ददेलले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update