
रुकुम पश्चिममा पनि तीन सय दुई औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा स्थित कालिका स्थानमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा शाहको योगदानको चर्चा गर्दै तीन सय दुई औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।
राप्रपा जिल्ला कार्य समितिले आयोजना गरेको शाहको जन्म जयन्ती तथा एकता दिवसको अवसरमा सहभागीहरूले शाहले गरेको योगदानको स्मरण गर्दै उहाँको योगदानलाई भुल्न नहुनेमा जोड दिएका थिए । नेपाल एकीकरणमा शाहको महत्त्वपूर्ण भूमिका रहेकाले पछि आउने पुस्ताले पनि उहाँको बारेमा बुझ्न जरुरी रहेको राप्रपा केन्द्रीय सदस्य दीपककुमार मल्लले बताउनुभयो ।
व्यक्ती र पार्टीका लागि भन्दा पनि शाह नेपाली जनताको प्रेरणाको स्रोत रहेको केन्द्रीय सदस्य मल्लले बताउनुभयो । नेपालको पछिल्लो अवस्था बिग्रँदै गएकाले राजाको आवश्यकता रहेको समेत मल्लले उल्लेख गर्नुभएको थियो । कार्यक्रममा राप्रपाका कर्णाली प्रदेश संयोजक रमेश विक, जिल्ला अध्यक्ष विनोदकुमार शाह, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य निर्जल केसी, नेपाल शिक्षक प्रतिष्ठानका केन्द्रीय सदस्य लालबहादुर खड्का लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।