Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वास्थ्यकर्मीहरूलाई गुमाई तथा शोक व्यवस्थापन सम्बन्धी तालिम 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई गुमाई तथा शोक व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । पौष २६ र २७ गते सि.बि.एम ग्लोबलको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल अन्तर्गत जाजरकोट भूकम्प प्रतिकार्य परियोजनाबाट स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको हो । 

शोक सम्बन्धी अनुभव आदानप्रदान गरी व्यवस्थापन गर्न सहज बनाउने र शोक महसुस गरिरहेका व्यक्तिहरूलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग दिने तरिकाका बारेमा जानकार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

तालिमका सहभागीहरूलाई गुमाई तथा शोकको अर्थ र अवधारणा, शोकको गम्भीरता र जटिलतालाई प्रभाव पार्ने तत्त्वहरू, शोकको चरण वा तह, शोकका कारण जीवनका विभिन्न पक्षमा देखिने प्रतिक्रियाहरू, बालबालिकामा देखिने उमेरगत शोकको प्रतिक्रिया र व्यवस्थापनका उपायहरू, शोक सम्बन्धीका भ्रम र मिथ्या, शोकको सामना गर्ने तरीका लगायतका बारेमा सिकाइएको थियो । 

२१ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको तालिमको सहजिकरण सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता गगनबहादुर ओली र कमला पौडेलले गरेको सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार तालिमको सानीभेरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक शेरबहादुर खड्काको अध्यक्षता र सी.एम.सी नेपालका मनोविद् तथा कार्यक्रम संयोजक लक्ष्मण नाथ आतिथ्यतामा भएको एक कार्यक्रमका बिच समापन गरिएको हो ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update