
जन प्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको चौथो साधारण सभा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गामा आयोजना गरिएको सहकारीको चौथो साधारण सभा आय व्यय प्रस्तुत गर्दै सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार शर्माले सहकारी संस्थाको गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
२०७७ साल जेठ १४ गते देखि जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा सहकारी संस्था सञ्चालन हुँदै आएको छ । सहकारी संस्थामा हाल दुई सय ६५ शेयर सदस्य आबद्ध रहेको सञ्चालक समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसारर गत वर्ष दुई सय १२ शेयर सदस्य रहेकामा यस वर्ष २५ प्रतिशतले वृद्धि भएर दुई सय ६५ पुगेका छन् ।
७९ जना शेयर सदस्य आबद्ध भएर पाँच लाख २५ हजार शेयर पुँजीबाट सञ्चालन गरिएको सहकारी संस्थामा हाल ५२ लाख ३ हजार शेयर पुँजी पुगेको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै बचत परिचालन ४३ लाख २९ हजार ५ सय ६५, कर्जा लगानी १ करोड २० लाख १९ तीन सय ८८, नाफा ३ लाख ११ हजार ३ सय १३ रुपैयाँ ९७ पैसा रहेकामा गत आर्थिक २०७८/७९ को खर्च कटाउँदा २९ हजार पाँच सय रुपैयाँ ३८ पैसा घाटामा रहको सहकारीका सञ्चालक समिति अध्यक्ष शर्माले प्रस्तुत गरेको वितरणमा उल्लेख गरिएको छ ।
संस्थाको सम्पूर्ण आर्थिक कारोबार माइक्रो बैंकर नेपाल सफ्टवेयर मार्फत गर्ने गरिएको पनि जानकारी गराइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा संस्थाले २६ लाख २० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यसमा विभिन्न खर्च तथा कार्यालय सञ्चालनमा १७ लाख ३९ हजार पाँच सय खर्च हुने बाँकी ८ लाख ८० हजार पाँच सय बचन हुने अनुमान सहकारी संस्थाको छ । बचत भएको रकमबाट शेयर सदस्यहरूलाई लाभांश वितरण गरिने बताइएको छ ।
संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिकाका १२ नम्बर वडा अध्यक्ष धिरन सेर्पाली, अन्य सहकारीका प्रतिनिधि लगायतको आतिथ्यता रहको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य सुशिल गौतमले गर्नुभएको थियो ।