Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर 

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गरिएको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको आयोजनामा भूकम्प प्रभावित नागरिकका लागि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ को घेत्मा स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गरिएको हो । 

शिविरबाट कुल ६ सय ११ जनाले सेवा लिएका छन् । जसमा महिला चार सय ६ जना र पुरुष दुई सय पाँच जना रहेका छन् । त्यस्तै शिविरमा ५३ जनाको ग्लुकोमिटरबाट निःशुल्क रगत जाँच गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रहरूमा आउन सक्ने जटिलता र स्वास्थ्य समस्याको समाधानको लागि शिविर आयोजना गरिएको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुकुम पश्चिमका सचिव ठानबहादुर केसीले जानकारी दिनुभयाे । 

उहाँका अनुसार शिविरमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका निमित्त निर्देशक डाक्टर शङ्करप्रसाद रिजाल, कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर खेमराज तिमिल्सेना, आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका डाक्टर मानबहादुर ओली, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुकी डाक्टर रेणु डिसी लगायतका स्वास्थ्यकर्मीको टोली खटिएको थियो । 

त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोट र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश समितिको आयोजनामा जाजरकोटको वारेकोट गाउँपालिकाको लिम्सामा पनि निःशुल्क आयुर्वेद स्वास्थ्य तथा योग शिविर सम्पन्न गरिएको छ । उक्त शिविरमा तीन सय ५० भन्दा बढीले सेवा लिएका छन् । 

WhatsApp Image 2024-01-16 at 13.06.15_a91ca7ec1705389765.jpg

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका आयुर्वेद चिकित्सक डाक्टर धनवीर बुढाको अध्यक्षतामा भएको शिविरमा वारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीको प्रमुख र प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका निमित्त निर्देशक डाक्टर शङ्करप्रसाद रिजालको विशेष आतिथ्यता रहेको थियो । 

शिविरमा डाक्टर रिजाल सहित, कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर खेमराज तिमिल्सेना, डाक्टर धनवीर बुढा, डाक्टर रेणु डिसी, आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्ष छविलाल खड्का, आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोका निमित्त कार्यालय प्रमुख नरेन्द्र कठायतको टोली खटिएको थियो । दुवै जिल्लामा कार्यक्रमको सञ्चालन जाजरकोट र रुकुम पश्चिमका कविराज निरीक्षक प्रभात सुवेदीले गर्नुभएको थियो । 

शिविरको लागि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत, विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रहरू, औषधि उत्पादन कम्पनीहरू (ग्रेस फर्मास्युटिकल प्राली, भाष्कर हर्वास्युटिकल प्राली, गोर्खा अयुर्वेद कम्पनी प्राली, केयर हर्वल प्राली), औषधि सप्लायर्सहरु उदिप श्रेष्ठ, कवीन्द्र अधिकारी, देवस्थल आयुर्वेद औषधालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र लगायतले औषधि उपलब्ध गराएका थिए ।। 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update