Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ११ मा खुकुरी प्रहार गरी १४ वर्षीय बालककाे हत्या, एक जना घाइते 
सांकेतिक फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा खुकुरी प्रहार गरी एक बालकको हत्या भएको छ । अर्का एक जना घाइते भएका छन् । बडाको कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला परिवर्तन गाउँपालिका ४ पाछावाङ रोल्पाका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ । घटना आज दिउँसो १२ बजेतिर भएको हो । खुकुरी प्रहारबाट मृत्यु हुनुभएका डाँगी दिदीको घरमा बसेर पढ्दै आउनु भएको थियो । उहाँ मुसिकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुलखेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 

घाइते सुकलालकाे जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काको भनाई छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update