गत मङ्सिरमा रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मग्माका कर्णबहादुर खत्रीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । खत्रीको परिवारलाई कर्णाली प्रदेश समन्वय परिषद् कतारले आर्थिक सहयोग गरेको हो ।
परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले थोरै भए पनि सहयोग होस भन्ने उद्देश्यले खत्रीको परिवारलाई दुई हजार कतार रियाल अर्थात् नेपाली ७६ हजार चार सय २० रुपैयाँ सहयोग गरिएको कर्णाली प्रदेश समन्वय परिषद् कतारका महासचिव गुलाब लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग रकम खत्रीको आफन्त मानबहादुर खत्रीको नाममा पठाइएको हो ।
खत्रीको शव पनि नेपाली राजदूतावाससँग समन्वय गरेर परिषद्ले नै नेपाल पठाएको थियो । खत्री विगत केही वर्ष देखि रोजगारीको सिलसिलामा कतारमा हुनुहुन्थ्यो । कर्णाली प्रदेश समन्वय परिषद् कतारमा गठन भई विभिन्न सामाजिक कार्य गर्दै आएको छ । परिषद्ले गत कात्तिक १७ गते राती गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिम र जाजरकोटमा पनि आर्थिक सहयोग गरेको थियो ।





-1759842583.jpg)