
रुकुम पश्चिममा सुरक्षाकर्मीहरूका लागि तनाव व्यवस्थापन तथा मनोपरामर्श तालिम सञ्चालन गरिएको छ । विपत् को अवस्थामा सुरक्षाकर्मीहरूले सामना गर्नु परेको तनावलाई कम गर्न मनोपरामर्श तालिम सञ्चालन गरिएको हो । गत कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पको कारण तथा अन्य विपत् को समयमा हुने मानसिक तनावलाई व्यवस्थापन गर्न मनोसामाजिक परामर्श तालिम सञ्चालन गरिएको बहु सांस्कृतिक मनोसामाजिक परामर्श संस्था टिपीओ नेपालका मनोविद् प्रेमनाथ भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने मनोपरामर्श तालिममा ९० जना सुरक्षाकर्मी (नेपाल प्रहरी)को सहभागिता रहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आयोजना गरेको तनाव व्यवस्थापन तथा मनोपरामर्श तालिमको प्राविधिक सहयोग बहु सांस्कृतिक मनोसामाजिक परामर्श संस्था टिपीओ नेपालले गरेको छ । भने आर्थिक सहयोग युनिसेफको रहेको छ । बहु सांस्कृतिक मनोसामाजिक परामर्श संस्था टिपीओ नेपालले हाल कर्णाली प्रदेशमा चार वटा परियोजना मार्फत काम गरिरहेको छ ।
जसमा क्षमता अभिवृद्धि, मनोपरामर्श, स्वास्थ्य उपचार र मानसिक सु स्वास्थ्य प्रवर्द्धन रहेको मनोविद् भट्टराईले जानकारी दिनुभयो । २०६२ सालमा स्थापना भएको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा सात वटै प्रदेशमा विभिन्न परियोजना मार्फत काम गरिरहेको उहाँले बताउनुभयो । यो तालिमले सुरक्षाकर्मीहरूलाई मनोवैज्ञानिक रूपमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ ।
विपत् को बेलामा मात्र नभई समय समयमा सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श तालिम दिनुपर्ने प्रमुख अतिथि लुम्बिनी गौतमले बताउनुभयो । विभिन्न विपत् व्यवस्थापन तथा घटनामा प्रत्यक्ष सहभागिता हुने भएकाले पनि सुरक्षाकर्मीलाई यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने उहाँको भनाई छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन बहु सांस्कृतिक मनोसामाजिक परामर्श टिपिओ नेपाल रुकुम पश्चिमका मनोविमर्शकर्ता झरना विकले गर्नुभएको थियो ।