
कोरोना संक्रमण बढिरहेको सन्दर्भमा रुकुम पश्चिममा हुने विविध गतिविधिमा सुरक्षित व्यवहार अपनाउनुपर्ने आदेश जारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले विभिन्न नौं बुँदे आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा ३(१) बमोजिम उल्लेखित नौं बुँदा कार्यान्वयन गर्न गराउन भनिएको छ ।
यदी जारी आदेशको पालन नगरे कानून बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ । घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउने, साबुन पानीले हात धुने, तोकिएको दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन भनिएको छ । मेला, महोत्सव, धर्ना, जुलुस, आम सभा, खेलकुद, साँस्कृतिक कार्यक्रम, पूजापाठ लगायत भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।
नियमित गर्नुपर्ने यस्ता कार्यक्रम भए २५ जना भन्दा बढिको जमघट नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले भनेको छ । स्थानीय संघ, संस्था वा अरु कुनै निकायले भेला, सम्मेलन गोष्ठी गर्नु पर्दा प्रशासनको पूर्व स्वीकृत लिएपछि २५ जना भन्दा बढीको जमघट नहुने गरी गराउनुपर्ने छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर मात्रै शैक्षिक संस्थाहरु सञ्चालन गर्नुपर्ने छ ।
सरकारले तोके बमोजिम बैकल्पिक उपाय अपनाएर पठन पाठन गर्ने गराउने गरी व्यवस्था मिलाउन पनि प्रशासनले भनेको छ । होटल, रेष्टुराँ, पसल, व्यवसाय सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर गर्नुपर्ने छ । राती १० बजे अगावै सबै व्यवसाय बन्द गरिसक्नुपर्ने छ ।
सवारी चालक, सहचालकले मास्क लगाउने, सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने, सवारीमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गर्नुपर्ने छ । विदेश तथा जिल्ला बाहिरबाट आउने व्यक्तिहरु १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको व्यवस्थापनमा ध्यान दिन पनि प्रशासनले सबै सरोकारवालालाई आग्रह गरेको छ ।