
रुकुम पश्चिममा पनि कोरोना भाईरस विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु भएको छ । चौरजहारी अस्पतालबाट खोपको डोस्रो डोज दिन सुरु गरिएको हो । तर स्वास्थ्य सेवा कार्यालयले भने सबैतिर भोलीबाट खोप दिन सुरु गर्ने बताएको छ ।समयमै भ्याक्सिन नपुगेका कारण भोली देखि खोप लगाउन सुरु गर्ने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपर भाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । जिल्लामा आज मात्र खोप आई पुग्ने उहाँले बताउनुभयो । २ सय भाईल खोप आउन लागेको उहाँको भनाई छ ।
तर चौरजहारी अस्पतालले भने यस अघिकै मौज्दात खोप दिन सुरु गरेको जनाएको छ । जिल्लाका सबै स्थानीय तहबाटै खोप लगाईने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयकी खोप सुपरभाईजर अधिकृत खड्काका अनुसार अस्पताल भएका स्थानीय तहमा अस्पतालबाट र अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्य चौकीबाट खोप दिईने छ । मुसीकोट नगरपालिकाको हकमा भने जिल्ला अस्पताल र वडा नं. १ को बालमन्दीरमा खोप केन्द्र स्थापना गरेर खोप दिने तयारी गरिएको छ ।
पहिलो चरणको पहिलो प्राथमिकतामा माघ १४ गते देखि २४ गतेसम्म खोप लगाएका ८ सय ५० र दोस्रो प्राथमिकतामा फागुन २ देखि १० गतेसम्म खोप पाएका १७ सय ६१ जनालाई खोपको दोस्रो मात्रा पाउँने छन् । पहिलो र दोस्रो प्राथमिकतामा खोप पाएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, एम्बुलेन्स चालक, सफाईकर्मि, पत्रकार लगायत गरी २६ सय ११ जनाले दोस्रो डोज पाउँने खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा फागुन २३ देखि २९ गतेसम्म खोप लगाएकाहरुले भने अहिले दोस्रो डोज पाउँने छैनन् ।
पहिलो चरणमा छुटेका र ६५ वर्ष माथिका ७ हजार बढीलाई अर्को चरणमा खोप दिईने स्वास्थ्य सेवा कार्यालयको भनाई छ । उनिहरुले खोपको पहिलो डोज लगाएको ८ हप्ता पुगिनसकेकाले अर्को चरणमा खोप दिन लागिएको हो ।