
रुकुम पश्चिममा कोरोना भाइरस विरुद्धको पहिलो चरणको दोस्रो मात्रा लगाइदै छ । जिल्लाका सबै स्थानीय तहका अस्पताल, स्वास्थ्य चौकीमा आजबाट यो खोप सुरु गरिँदै छ । चौरजहारीमा भने मंगलबारदेखि नै यो खोप लाउन सुरु भइसकेको छ ।
जिल्लाका विभिन्न ११ खोप केन्द्रमा यो खोप लगाइने छ । यस अघि पहिलो खोप लगाइ सकेकाहरुका लागि दोस्रो मात्रा लगाइन लागेको हो । कुनै खोप केन्द्रमा १ दिन मात्रै खोप लगाइने छ भने कुनै केन्द्रमा ४ दिन सम्म खोप लगाइने छ । बाँफिकोट गाउँपालिकाको स्वास्थ्य चौकी बाँफिकोटमा २ दिन खोप लगाइने छ ।
आठबीसकोट नगरपालिकाको आठबीसकोट अस्पताल र गोतामकोट स्वास्थ्य चौकीमा २/२ दिने यो खोप लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । चौरजहारी नगरपालिकाको चौरजहारी अस्पताल र सहिद स्मृति अस्पताल खोलागाउँमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।
सानीभेरी गाउँपालिकाको गाउँपालिका अस्पतालमा खोप लगाइने छ । मुसीकोट नगरपालिकाको जिल्ला अस्पताल सल्ले, बाल मन्दिरमा ४/४ दिन खोप लगाइने छ भने कारागारमा १ दिन खोप लगाइने छ । त्रिवेणि गाउँपालिकाको गाउँपालिका अस्पताल र सिम्रुतु स्वास्थ्य चौकीमा खोप लाउने व्यवस्था मिलाइएको छ ।
सबैतिर आज र भोली खोप लगाइने छ भने मुसीकोटको जिल्ला अस्पतला र बाल मन्दिरमा भने शनिबारसम्म खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
यस अघि खोप लगाइसकेकालाई पायक पर्ने खोप केन्द्रमा गएर पहिलो चरणको दोस्रो मात्राको खोप लगाउन आग्रह गरिएको बुढाथोकीले बताउनुभयो । पहिलो र दोस्रो प्राथमिकतामा खोप पाएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, एम्बुलेन्स चालक, सफाईकर्मि, पत्रकार लगायत गरी २६ सय ११ जनाले खोपको दोस्रो मात्रा लगाउनेछन् ।