Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोला पुल निर्माणको काम सुरु गर्न समाजवादी मोर्चाको अल्टिमेटम

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाले रुकुम पश्चिमको पितिवाङ खोला पुल निर्माणको काम सुरु गर्न अल्टिमेटम दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मोर्चाले राप्ती राजमार्ग अन्तर्गत मुसिकोट ११ र १२ नम्बर वडा जोड्ने पितिवाङ खोला पुल निर्माण सुरु गर्न अल्टिमेटम दिएको हो ।

मोर्चाले चैत्र ७ गतेसम्मको अल्टिमेटम दिएको छ । साथै मोर्चाले तोकिएको समयमा काम सुरु हुने विश्वास लिँदै नभए सङ्घर्षमा जाने चेतावनी दिएको छ । तोकिएको समय भित्र काम सुचारु गराउन आवश्यक पहलकदमी लिन मोर्चाले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको छ । हामीले आइन्दा थप सङ्घर्ष गर्नु नपर्ने गरी आगामी चैत्र ७ गतेभित्र निर्माण कार्य पुनः सुचारु गराउन आवश्यक पहलकदमी लिइदिनुहुन प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष जोडदार माग गर्दछौ, मोर्चाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

निर्माण सम्झौता भएको चार वर्ष पुग्न लाग्दा पनि ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माण सम्पन्न हुन नसकेको भन्दै मोर्चाले पुल निर्माणको काम तत्काल सुचारु गर्न आवश्यक पहलको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापन पत्र बुझाएको हो । 

२०७८ वैशाख ७ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी बिच २०७६ असार ८ गते निर्माण सम्झौता भएको थियो । मूल्य अभिवृद्धि कर बाहेक कुल चार करोड १२ लाख ३९ हजार तीन सय ७५ रुपैयाँमा ठेक्का लिएकामा उक्त पुल निर्माणको कार्य तोकिएको मितिमा सम्पन्न नभई अलपत्र अवस्थामा छोडिएको ज्ञापन पत्रमा उल्लेख छ ।

‘राप्ति राजमार्ग अन्तर्गत झुल्नेटा–मुसिकोट सडक सञ्चालन भएको १७ वर्षसम्म पनि पितिबाङ्ग खोलामा पुल नबन्दा यात्रुहरू, यात्रुवाहक सवारी साधन, उद्योगी व्यवसायीका मालवाहक गाडीहरूले पनि चरम सास्ती बेहोर्नु परेको छ, यति मात्र हैन कुशासन र अनियमितताको भद्दा नमुनाको रूपमा रहेको पितिबाङ्ग खोला पुल निर्माणको बिजोगपनले जिल्लाको राजनैतिक तथा प्रशासनिक कार्यसम्पादन लज्जास्पद अवस्थामा पुर्‍याइदिएको छ’ मोर्चाले बुझाएको पत्रमा भनिएको छ ।

यसको बोधार्थ डिभिजन सडक कार्यालय चौरजहारी, संरक्षण निर्माण सेवा प्रा.लि., प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, प्रतिनिधि सभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश सभा सदस्यहरू मिलन खड्का, कल्याणी खड्का, तुलसा मल्ल, जिल्ला प्रहरी कार्यालय र मुसिकोट नगरपालिकालाई राखिएको छ ।

6ad8870f-c6cd-44e3-9ecd-5a32684631d81710077668.jpeg

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update