रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाको गत शुक्रवार बसेको गाउँ कार्यपालिकाको बैठकले विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागु भएको सानीभेरी गाउँ कार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा १ वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो ।
बाल कल्याण आधारभूत विद्यालय पोखेरोलको, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ । त्यस्तै चार वटा विद्यालय शीतल माध्यमिक विद्यालय पक्रैँया, बाल ज्योति माध्यमिक विद्यालय गिठाकोट, सूर्योदय माध्यमिक विद्यालय बेल्टापु र जनज्योति माध्यमिक विद्यालय मेलचौरलाई कक्षा ११ र १२ बाट १० मा झार्ने निर्णय भएको छ । ४ वटा माध्यमिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ । ती विद्यालयहरूमा भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट रहेका छन् ।
भेरी दोभान माविमा कक्षा १२ सम्म र अन्य ३ वटा विद्यालयमा १० कक्षा सम्म पढाई सञ्चालन हुने गरेको थियो । अब भने कक्षा ८ सम्म मात्र पढाई सञ्चालन हुने छ । त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाई सञ्चालन भएका ४ वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी निर्णय भएको प्रवक्ता घर्तीले जानकारी दिनुभयो ।
मालिका पहाड आवि बसनडाडा, बाल कल्याण आवि शितटाकुरी, ज्ञानज्योति आवि टिमुरबोट कक्षा १ देखि ३ पढाई सञ्चालन भएकामा बालविकास केन्द्रमा झारिएको हो । भने जनसहयोग आवि आमडाँडा, चन्द्रोदय आवि सहरे, अमरज्योति आवि सल्लीचौर र दिपज्योति आवि चौखेलाई कक्षा ५ बाट कक्षा ३ मा घटुवा गरिएको छ । पालिका भर ४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।
त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा विस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भुपालसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकहरूको दरबन्दी, विद्यालय–विद्यालय बिचको दुरी लगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको हो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय समायोजन लागु भइसकेको र वैशाख दोस्रो हप्ता बस्ने अर्को बैठकले समायोजन गरिएका विद्यालयमा अध्यापनरत शिक्षकको बारेमा निर्णय गर्ने शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।