Kakhara सबैको खबर सम्पूर्ण खबर
पढ्दै कमाउँदै कार्यक्रम: विद्यार्थीलाई मौरी गोलाका सहितका घार र तरकारीको बिउँ वितरण

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयले एक सय ४१ जना विद्यार्थीलाई मौरी गोला सहितका घार र तरकारीको बीउ वितरण गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यार्थीलाई मौरीका गोला सहितका घार र तरकारीको बीउ वितरण गरिएको हो । प्राविधिक धारतर्फ ९ कक्षा देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई मौरीका गोला सहितको घार तथा तरकारीको बीउ वितरण गरिएको विद्यालय जनाएको छ ।

मौरी गोला सहित घार ४१ जना विद्यार्थीलाई वितरण गरिएको छ, भने एक सय जना विद्यार्थीलाई तरकारीको बीउ वितरण गरिएको छ । कक्षा ९ का २४, कक्षा १० का चार, कक्षा ११ का पाँच र कक्षा १२ का आठ गरी ४१ जना विद्यार्थीलाई मौरी गोला सहितका घार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

मौरी गोला सहितका घार सँगै मौरी पालन गर्दा आवश्यक पर्ने सामाग्री ब्रस, हुल छोप्ने झोला, घुम्टी धुँवादानी, पन्जा र फिडर लगायतका सामाग्री वितरण गरिएका छ । यस्तै कक्षा ९ का २४, कक्षा १० का १५, कक्षा ११ का ३३, र कक्षा १२ का २८ जना विद्यार्थीलाई रायो, बन्दा, काउली, मुला लगायत तरकारीको बीउ वितरण गरिएको प्रअ मल्लले जानकारी दिनुभयो । विद्यालयमा आर्थिक वर्ष २०७९/०८० देखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको थियो ।

गत वर्ष यसै कार्यक्रम बाट २५ जना विद्यार्थीलाई मौरी गोला सहितका घार वितरण गरिएको थियो । गएको वर्ष विद्यार्थी वितरण गरिएको मौरी सहितका गोला बाट विद्यार्थीले राम्रो आम्दानी गरेको हुँदा यो वर्ष पनि यसलाई निरन्तरता दिएको प्रअ मल्लले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको करिब पाँच लाख रुपैयाँबाट मौरी गोला सहित घार र तरकारीको बीउ खरिद गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रम बिच विद्यार्थीलाई मौरी गोला सहित घार र तरकारीको बीउ वितरण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update