Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पहिरोले गोठ बगाउँदा ११ वर्षीय  बालकको  मृत्यु
फाइल फोटो ।

निरन्तरको वर्षा सँगै आएको पहिरोले गोठ बगाउँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ भेट्टेचौरका कर्णबहादुर बुढाका ११ वर्षीय छोरा सरगम बुढाको मृत्यु भएको हो । गए राति गोठ माथिबाट पहिरो झरेपछि कर्णबहादुर सहित उहाँकी श्रीमती गम्मा बुढा, छोरी तिलसरा बुढा र छोरा सरगम पुरिएका थिए । 

सरगमकाे घटनास्थलमै मृत्यु भएको हो भने कर्णबहादुर, गम्मा र तिलसरा घाइते हुनुभएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

कर्णबहादुरको परिवार केही दिन अघिदेखि सिस्ने गाउँपालिका वडा नम्बर २ को दल्लुगैरा भन्ने ठाउँमा भैँसी सहित गोठमा बस्दै आएको थियो । २ घण्टा लामो पैदल यात्रा गरी प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको प्रजिअ शर्माले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update