जिल्ला अस्पताल रुकुम पश्चिममा २०७९ को फागुन देखि हाड जोर्नी तथा नसा रोग सम्बन्धी उपचार सेवा सञ्चालनमा छ । यो बिचमा ७ सय बढी साना ठुला अप्रेसन भएका छन् । जसमा ५ सय बढी मेजर अप्रेसन रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा रहनुभएका हाड जोर्नी विशेषज्ञ डाक्टर सुशील पोख्रेल र उहाँको टिमले हाड जोर्नी र नसा रोग सम्बन्धी सेवा प्रवाह गरिरहेको थियो ।
जिल्ला अस्पतालमा २५ महिना प्रमुखको जिम्मेवारी पुरा गरेर डाक्टर पोखरेल भर्खरै प्रदेश सामाजिक विकास मन्त्रालयमा जानुभएको छ । उहाँको सरुवा भएपछि अव जिल्ला अस्पतालबाट हाड जोर्नी सम्बन्धी सेवा पाइन्छ कि पाइँदैन भन्ने अन्योलमा जिल्लावासी परेका छन् । उहाँको ठाउँमा बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाई आउनुभएको छ । उहाँ आए लगत्तै जिल्ला अस्पतालमा पहिलो पटक बाल रोग विशेषज्ञ सेवा सुरु भइसकेको छ ।
अब जिल्ला अस्पतालबाट हाड जोर्नी र नसा रोग सम्बन्धी सेवा अब पाइन्छ कि पाइँदैन भनेर देखिएको अन्यौलता चिर्न कखराले स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर चौलागाइलाई प्रश्न राख्दा उहाँले पूर्ण रूपमा सेवा अवरुद्ध नभएको बताउनुभयो । हाड जोर्नी विशेषज्ञ पोखरेल जिल्लाबाट सरुवा भएर गएपछि केही सेवा रोकिएको तर सबै सेवा नरोकिएको डाक्टर चौलागाईले बताउनुभयो । ‘हामीसँग अर्थोको डाक्टर अहिले पनि हुनुहुन्छ उहाँले नियमित सेवा प्रवाह गरिरहनुभएको छ, डाक्टर पोखरेल गएपछि मेजर (जटिल) अप्रेसन सेवा भने रोकिएको छ,’ उहाँले भन्नुभयो ।
तर यो पनि लामो समय नरहने उहाँको भनाई छ । एक, दुई महिनामै हाड जोर्नीको विशेषज्ञ डाक्टरको व्यवस्थापन गरेर विशेषज्ञ सेवालाई समेत नियमित गर्ने गरी लागि परेको उहाँको भनाई छ । ‘हामीले यसका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सङ्घको स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेका छौँ । सचिव ज्युहरूले पनि जनशक्ति व्यवस्थापनका लागि पहल गरिरहनुभएको छ । अस्पताल विकास समितिमा पनि कसरी १ महिना भित्रमा सेवा सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ । मलाई लाग्छ १ वा २ महिना भित्र यो सेवा सुचारु हुन्छ,’ उहाँ भन्नुहुन्छ ।
उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा हाड जोर्नी र नसाका लागि हप्तामा तीन दिन ओपिडी सेवा चलिरहेको छ । सोमबार, बुधवार र शुक्रवार गरी हप्तामा तीन दिन हाड जोर्नी र नसाका बिरामीलाई चेकजाँचका लागि ओपिडी सेवा चलिरहेको उहाँले बताउनुभयो । ओपिडी सहित माइनर अप्रेसन जस्तै तार हाल्ने, किला, नेल हाल्ने जस्ता सेवाहरू जारी नै रहेको स्वास्थ्य सेवा व्यवस्थापक बाल रोग विशेषज्ञ डाक्टर चौलागाईले बताउनुभयो ।