दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुकुम पश्चिममा भलिबलको छनोट सम्पन्न भएको छ । जिल्ला भलिबल संघले जिल्लाको महिला तथा पुरुष दुवै टिम छनोट गरेको हो । सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापुमा भएको छनोटबाट खेलाडी छानिएको हो ।
छनोटमा सहभागी खेलाडीको प्रदर्शनका आधारमा छनोट गरिएको जिल्ला भलिबल संघ रुकुम पश्चिमका सचिव प्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष तर्फ १४ र महिला तर्फ ११ जना खेलाडी छनोट गरिएको छ ।
पुरुष तर्फ नवीन ओली, रबिन रसाइली, रब्सन महर, कमल बस्नेत, पुष्प खनाल, गणेश नेपाली, लक्ष्मण शाही, प्रकाश खत्री, रित्तिक सुनार, जय परियार, गणेश सुनार, विनोद अधिकारी, मानसिंह ददेल र भूगोल कठायत छनोटमा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार महिला तर्फ बिमला विक, प्रशंसा चन्द, धनमाया नाथ, देवी नाथ, शर्मिला परियार, रुपा विक, शारदा पुन, युनिशा बुढा, हरिमाया ओली, गीता मल्ल र सुनिता बुढाथोकी छनोट भएकी छन् ।
छनोटमा पालिका अनुसारका टिम बिचमा प्रतिस्पर्धा गराइएको थियो । पुरुष तर्फ आठबिसकोट नगरपालिका प्रथम हुँदा त्रिवेणी गाउँपालिका द्वितीय बनेको थियो । महिला तर्फ भने बाँफिकोट प्रथम र आठबिसकोट नगरपालिका द्वितीय भएको थियो ।
छनोटमा परेका खेलाडीहरूका लागि जिल्ला भलिबल संघले बन्द प्रशिक्षण सञ्चालन गर्ने भएको छ । भोली असोज २० गतेबाट सानीभेरी ३ को बेलटापु खेल मैदानमै महिला तथा पुरुष दुवैको बन्द प्रशिक्षण राखिएको संघका अध्यक्ष भीमप्रकाश विकले जानकारी गराउनुभयो ।
प्रदेश छनोटमा राम्रो प्रदर्शन गर्ने र जिल्लाका धेरै खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा छनोट गराउने लक्ष सहित तयारी थालिएको उहाँले बताउनुभयो । महिला तथा पुरुष तर्फको राम्रो टिम निर्माण गरेर प्रदेश छनोटमा राम्रो प्रदर्शन गर्ने लक्ष रहेको उहाँको भनाई छ ।





