रुकुम पश्चिममा कोरोना संक्रमण बढ्दै गएको छ । दोस्रो लहर सुरु भएयता वैशाख महिनामा मात्रै ५ जनाको मृत्यु भइसकेको छ । यो सामग्री तयार पार्दासम्म ३ सय २७ जना संक्रमित छन् । ८ जनालाई जिल्ला बाहिर उपचारका लागि रिफर गरिएको छ । ३० जना विभिन्न आइसोलेससनमा उपचाररत छन् । २ सय ५२ जना होम आइसोलेसनमा छन् । ३० जनाले कोरोना जितिसकेका छन् । कोरोना रोकथाम, नियन्त्रण, उपचार र त्यसको व्यवस्थापनमा स्थानीय तह, जिल्ला अस्पताल, जिल्ला प्रशासन सबै लागेका छन् । जिल्लामा संक्रमितको संख्या बढ्दै गएको र समस्या पनि बढ्दै गएपछि पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा जिल्ला पुग्नुभएको थियो । तीन दिन जिल्ला बस्नु भएका शर्माले विभिन्न अस्पताल, आइसोलेसन वार्ड, कोरोना संक्रमित, स्वास्थ्यकर्मीसँग छलफल भेटघाट गर्नुभएको छ भने यसको रोकथाम र उपचारमा पहल पनि गर्नुभएको छ ।यसबीचमा जिल्लामा ८९ वडा अक्सिजन सिलिन्डर आएका छन् । अरु स्वास्थ्य सुरक्षाका सामग्री पनि आएका छन् । यसै सन्दर्भमा शनिबार विहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठक शर्माकै उपस्थितिमा बसेको छ । बैठकमा आ– आफ्नो पालिकामा भइरहेका गतिविधि र भएका समस्याका बारेमा स्थानीय तहले जानकारी गराएका थिए । जिल्ला प्रशासन, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालयले पनि हालसम्मको अवस्था र भइरहेका प्रयासका बारेमा जानकारी गराएको थियो । उक्त बैठकमा राखिएका विचार,विवरणको सम्पादित अंश यहाँ राखिएको छ ।-सम्पादक ।
जनार्दन शर्मा, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य
सबैको रिर्पोटिङपछि शर्माले बोल्नुभएको थियो । यो महामारीलाई सहजलाई स्वीकार गर्नुपर्छ । महामारी आइसक्यो । आइसकेपछि रोएर, कराएर, चिच्चयाएर यो भाग्नेवाला छैन । यसैले रोकथाम गरेर यसलाई जित्ने कुरा हो । यो एउटा युद्ध हो । युद्ध भएकाले कहाँ कसरी आक्रमण हुन्छ भन्ने थाहा हुँदैन । तर युद्धमा जित हात पार्ने, जित्ने प्रयास अनेक तरहबाट गर्नुपर्छ । सबैले मनोबल बढाउनुपर्छ । आधा युद्ध जित्ने भनेको मनोबलले नै हो । हामीले मनोबल उच्च राखौं । त्यसका साथमा इच्छाशक्ति जगाऔं, उत्तर दायित्व नभुलौं । यस्तो कठिन परिस्थितिमा सबै सबैका आ–आफ्ना उत्तर दायित्व छन् । कुनै पनि बाहानामा उत्तरदायित्वबाट कोही पनि नभागौं । समस्या समाधानविहीन हुँदैन । यो युद्धको सामना समान्य अवस्थाबाट गर्न सकिदैन । युद्ध परास्त गरेर आफू विजय हुने भनेको स्रोत, साधनले हो ।
काठमाण्डौंमा समस्या छ । यी नै विभिन्न कारणले सबैको मनोबल हतास भएको अवस्था हो । हामी जहाँ छौं, त्यहीबाट जिम्मेवारीपूर्वक लागौं हामीसँगको स्रोत साधन, र जनशक्तिको एकीकृत परिचालनबाट सफलता मिल्छ । सबै तह, तप्का, निकायहरु अलि फरवार्ड बनौं । सूचना, सञ्चार, रिर्पोटिङ र समन्वयमा ल्याप्सेस नगरम । यसले पनि समस्या बनाइरहेको छ । सूचना चाहियो, रिर्पोटिङ चाहियो र समन्वय पनि सहि ढंगले हुनुपर्छ । त्यसले मात्रै पहल कदमी लिन मद्दत गर्छ । यो महामारी ठूलो युद्ध हो । ठूलो युद्धमा सबै लड्नुपर्छ । एउटाले मात्रै यो जित्न सकिदैन । यस लडाइका कमाण्डर डाक्टर र स्वास्थ्यकर्मीहरु हुन् बाँकी सबै हामी सेना हौं । हामी विना वर्दिका सेनाका रुपमा लडौं । नआत्तिऔं ।
भएको स्रोत, साधन र जनशक्तिको भरपूर उपयोग गरौं । सकेसम्म स्रोत साधन थप्ने प्रयास हुन्छ । जनशक्तीको व्यवस्थापनमा लागिन्छ । यदी त्यसो हुन नसकनेपनि, नथपिएपनि, न्युनतम आधारभुत सामग्रीको अभाव हुँदैन । आवश्यक पर्ने न्युनतम सामग्रीका लागि चिन्ता नमान्नुहोला । तर सबैले भूमिका निर्वाह गर्न भने विर्सनु हुँदैन । केही अघि समस्या देखिएको थियो । अब काम चल्ने अवस्थामा आएको छ । विशेष गरी अक्सिजनको व्यवस्थापन भयो । भएको व्यवस्थापनको सही उपयोगमा सबैले ध्यान लगाउँ । यसका लागि म प्रतिबद्ध छु, मैले के गर्नुपर्छ । कहाँ जानुपर्छ र भन्नु पर्छ म तयार छु । म प्रतिबद्ध छु । हालसम्म जिल्ला तथा पालिकामा भएका कामको सन्दर्भमा सबैलाई धन्यवाद छ । समय र परिस्थिति अनुसार योजना अपग्रेड गर्नुपर्छ । केही दिन अघि देखिएको योजनामा अघि बढ्दा समस्या हुने देखिएपछि योजना अपग्रेड गरियो । पहिलादेखि जे छ त्यसमा काम गर्दा प्रभावकारी हुने देखिएन र योजना अपग्रेड गरियो ।
कतै काम भएप्नि व्यववहारीक तालमेल भएन । त्यसो नहुँदा पनि समस्या हुन्छ । तालमेल मिलाउनका लागि सबैको भूमिका छ । प्रशासनिक काम प्रमुख जिल्ला अधिकारी मार्फत गरौं, गराऔं । राजनीतिक निर्णय कार्यान्वयन जिल्ला समन्वय समितिबाट गरौं । व्यवस्थापकीय टिमले काम गर्नुपर्छ, कार्य विभाजन गर्नुपर्छ । साधन,स्रोतलाई मगाउने, सम्पर्क जोडदिने लगायतका काम मेरो जिम्माका भए । योजना बनाउन सघाउने अपग्रेड गराउने पनि मेरो सहभागिता हुन्छ । जिल्ला समन्वय समितिले पालिकाबाट समन्वय गर्नुपर्यो ।
हरेक दिन रिर्पोटिङ हुनुपर्छ । अवस्थाबारे जानकारी गर्नुपर्छ । निर्णय कायान्वयन भए नभएको हेर्नु पर्छ । कार्यान्वयन गराउनका लागि प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । प्रेरण प्रदान र आवश्यक परेको खण्डमा कारबाही सम्मको निर्णय गर्न पनि गर्नु पर्ने हुन सक्छ । जिल्लाका सुरक्षा निकाय आवश्यक्ताका आधारमा परिचालित हुने र गर्ने गरी मिलाउ । स्थानीय तहको स्वास्थ्यकर्मीको सबै विवरण चाहियो । स्रोत, साधन र जनशक्तिको एकीकृत परिचालनका लागि विवरण आवश्यक छ । अपुग स्वास्थ्यकर्मी भर्ना गरौं । त्यसको जानकारी प्रदेशलाई दिऔं । अहिले उपचारमा जुटौं । स्वास्थ्यकर्मीको जोखिम भत्ता दिऔं । यो वर्ष नसकिने भए अर्को वर्ष दिऔं ।
विकास बजेट कटाएर भएपनि मान्छे बचाउन लाग्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिऔं । बीमा गराइदिऔं । यो संघीय सरकारले निर्णय गरेर कार्यान्वयन नगरेको अवस्था हो अब स्थानीय सरकारले यसका लागि अग्रसरता लिऔं ।संक्रमितको बर्गिकरण गरेर उपचार सुरु गरौं । सामान्य विरामीलाई घरमै राख्ने व्यवस्था मिलाऔं । वडाध्यक्ष, स्वास्थ्यकर्मी र प्रहरीको सयुक्त टोलीले अक्सिजनको मात्रा नापेर सल्लाह दिऔं । अक्सिजनको मात्रा ९२ भन्दा माथि हुँदा घरमा बस्ने, घोप्टो परेर सुत्ने त्यसका लागि वडाध्यक्ष टोलमा पुगेको हुनुपर्छ । सरकार छ भन्नुपर्छ । विकल्प देखाउनुपर्छ । जनतालाई आशावादी बनाउन जनप्रतिनिधि लागि परौं । असिक्जनको मात्रा ८५ आसपास पगेपछि कन्सन्टेटरबाट अक्सिजन दिऔं । डाक्टरहको सल्लाह यही छ ।
ति विरामीलाई पालिकाले बनाएका आइसोलेसशनमा पनि उपचार गर्न सकिने रहेछ । हामी पनि त्यसै गरौं । ८५ आसपास भन्दा तल अक्सिजनको मात्रा घटेपछि भने जिल्ला अस्पताल, चौरजहारी अस्पताल पुर्याउने व्यवस्था गरौं । चौरजहारीमा भर्न मिल्ने खालको अक्सिजन प्लान्ट जडान हुने पक्का भएको छ । निर्माण गर्नुपर्ने र बाहिरबाट आउनुपर्ने भएका २ महिनामा त्यो निर्माण भइसक्ला । त्यसका लागि एक करोड बजेट आइसकेको छ त्यसैबाट प्लान्ट जडान गर्ने हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि छिटै सकिन्छ । कन्ट्रोल प्यानल र जडानको प्राविधिक नपाइदा समस्या भइरहेको छ । यो बेला सामग्रीको अभाव छ । त्यसको चपेटामा पनि पर्नु परेको छ । जिल्लामा भएका आयुर्वेद शाखा र आर्युवेद स्वास्थ्यकर्मीलाई पनि उपचारमा खटाऔं ।
गोपाल शर्मा, सदस्य कर्णाली प्रदेश सभा
यस विषायमा मुख्यमन्त्री ज्युसँग छलफल भएको छ । स्थानीय तह सबभन्दा फ्रन्टलाइनमा खटिएको छ । यसैलाई हो आर्थिक भौतिक रुपमा सहयोग गर्नुपर्ने । स्थानीय तहको नै कोरोना रोकथाममा बढी खटनपटन भएको छ । जनशक्ति आपूर्ति पनि छिटो भएको छैन । प्रदेशमा बजेट बसेको छ । त्यसको परिचालनमा तदारुक्ता देखिएको छैन । यसमा नेतृत्वको इच्छाशक्तिको कमी देखियो । सामाजिक मन्त्रालय खाली छ । यसबाट पनि काम गर्न मुस्किल भइरहेको छ । यसमा हालसम्म स्थानीय तहले गरेको कामको प्रशंसा गर्दछु ।
राजकुमार शर्मा, प्रमुख जिल्ला समन्वय समिति
यसको रोकथाम, नियन्त्रण, व्यवस्थापनका लागि बेला बेला निर्णय भएका छन् । निर्णय अनुसार पनि काम भइराखेका छन् । काम के भएका छन्, समस्या के छ भन्ने विषयमा पालिकाबाट कुरा आइसकेको छ । दोस्रो लहरको कोभिड महामारीले समस्या बनाइरहेको छ । योजना,प्रविधि र मनोबलका हिसावले पनि समस्या हल हुन सुरु भएको छ । समस्या जटिल छन् । सूचना आदानप्रदानमा कमजोर भयो । सूचना पुगेन । जसले समस्या बनाएको छ । भएको स्रोत,साधन जनशक्तिको प्रयोगमा समस्या भएको छ ।
सेवा सुविधा नपुगेको जस्तो, जाँगर नभएको जस्तो, डराको जस्तो समस्या देखिएका छन् । संघ र प्रदेशले गर्न नसकेको कुरा प्रष्ट छ । राज्य कमजोर, व्यक्ती बहादुर हुने कारणले समस्या छ । व्यक्ति मजवुत छन् । यसैले यी सबै समस्या छन् । प्रदेशले स्थानीय तहले होल्डिङ सेन्टर बनाउने निर्णय गराइदियो । यो निर्णयको खास अर्थ र महत्व देखिएको छैन । पर्याप्त अक्सिजनको व्यवस्था हुन सकेको छैन । काम चलाउ छ । यसलाई बढाउन सके राम्रो हुन्थ्यो ।
गोर्खबहादुर केसी, प्रमुख आठबीसकोट नगरपालिका
मान्छेहरु विभिन्न ठाउँबाट गाउँमा जान थाले । सुरुमा घेत्मामा परीक्षण गरेका थियौं । २ जनामा पोजेटिभ देखियो । त्यसपछि सबै विद्यालय बन्द गरेका थियौं । हालसम्म १४२ जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोतामकोटमा धेरै मानिस विरामी छन् । सबैमा लक्षण देखिएको छ । संक्रमितकाे आइसोलेसन वार्डमा उपचार भइरहेको छ । अक्सिजनको मात्रा ६० देखि ७० सम्मका विरामीको उचार त्यहीँ सम्भव भएको छ ।
हालसम्म २ जना रिफर भए । सकेसम्म रिफर गर्न नपाए हुने भन्ने लागेको छ । हाल एकै पटक ६ जनालाई असिक्जन दिन सकेका छौं । एकै पक १५ जनालाई दिने गरी व्यवस्थापन भइरहेको छ । हामीसँग कन्सन्टेटर छन् । अक्सिजन सिलिन्डर चाहिएको छ । असिक्जन मात्रा घट्दा सिलिन्डरले ठिक हुन्छ । सानो साइजका ७ सिलिन्डर छन् । स्वास्थ्यकर्मीलाई काम लगाउन सकिएको छैन । स्वास्थ्यकर्मी काममा नलागेको भन्दा पनि गत वर्षको जोखिम भत्ता दिन सकिएको छैन । यो वर्षको पनि के हो के जस्तो छ ।
यसैले काममा लगाउन पनि असजिलो महसुस भा हो । स्वास्थ्यकर्मीले गत वर्ष खाना खाकै पैसा तिर्न सकिएकाे छैन । यो सबै बजेट अभावले हो । नगर अस्पतालमो झण्डै ६० बेड छन् । तर यसको अन्तिम भने भएको छैन । लकडाउनका कारण पसल, कामदार नपाइदा समस्या भइरहेको छ । विरामी बोक्न चाहिएला भनेर अर्को एक गाडि भाडामा लिइएको छ । दैनिक ३ जना जस्तो गर्भवती सुत्केरी हुन आउँछन् । १ जना डाक्टर र अरु स्वास्थ्यकर्मी हुनुहुन्छ । जनशक्ति अपुग छ । थप जनशक्ति आवश्यक परेको छ । अर्को डाक्टर भए अँझ गर्न सकिन्थ्यो कि भन्ने लागेको छ ।
बद्रीनाथ गैह्रे, प्रमुख जिल्ला अधिकारी
संक्रमितहरुको उपचार व्यवस्थापनमा समस्या भइरहेको छ । विरामी बढ्दै जादा स्रोत साधनले पुग्दैन । भएको क्षमता बढाउनुपर्ने, बेड क्षमता, अक्सिजनको व्यवस्थापन गर्नुपर्ने छ । प्रतिनिधि सभा माननीयज्युबाट अक्सिजनको पहल भयो छ । उपचार व्यवस्थापनमा यसले सजिलो भएको छ । जिल्ला अस्पताल, चौरजहारी क्षेत्रको अवलोकन गरियो । बेड विस्तारको निर्णय भएको छ । पालिकाको अवस्था, तयारी र आगामी कार्य योजनाका विषयमा छलफल भइरहेको छ । स्वास्थ्य उपचार र व्यवस्थापन कसरी गर्ने भनेर दैनिक जसो छलफल हुने र निर्णय गर्ने कार्यान्वयनको काम भइरहेको छ ।
नरहरि तिवारी, प्रमुख प्रशासकी अधिकृत मुसीकोट नगरपालिका
कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णय भएका छन् । वैशाख १४ गतेको निर्णय अनुसार राप्ती समाज अस्पताललाई १९ गतेबाट सञ्चालनमा ल्याइएको छ । महिनाको २ लाख २५ हजार भाडा तिर्ने गरी ३ महिनाको सम्झौता भएको छ । नगरभर १६ युनिट स्वास्थ्य केन्द्र छ । ३९ स्वास्थ्यकर्मी छन् । ५ जना स्वास्थ्यकर्मीलाई आइसोलेसन वार्डमा खटाइएको छ ।
विद्यालय स्टाफ नर्सलाई परिचालन गर्ने तयारी गरिएको छ । विद्यालय बन्द भएकाले अब उनिहरुलाई आइसोलेसनमा खटाउने तयारी हो । स्वास्थ्य सामग्री अभाव छ । त्यही पूर्ति गर्न ७ लाखको सामग्री खरिद गरेर आधारभुत स्वास्थ्य चौकी र राप्ती समाजको आइसोलेसनमा पटाइएको छ । अब हामीसँग झण्डै १२ जति अक्सिजनका सिलिन्डर छन् । कन्सन्टेटर खरिद गर्ने तयारी छ । आधारभुत स्वास्थ्य चौकी चुस्त दुरुस्त राख्ने कुरा । आवश्यक परे त्यसलाई पनि आइसोलेसन बनाउने योजनामा छौं । एउटा एम्बुलेन्स प्रयोग भइरहेको छ । टिप्पर शव बोक्न प्रयोग भइरहेको छ । यसले गर्दा फोहोर उठेको छैन ।
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन सकिएन । यो वर्ष दिउँला भनेका छौं । एन्टिजेन २ सय थान आउँदै छ । संघ र प्रदेशले हामीलाई चिनेन । विपद् व्यवस्थापनमा २० लाख बजेट थियो अब १३ लाख बाँकी छ । बजेट अभाव देखिन्छ । भइरहेका योजनालाई रोकेर यसतर्फ खर्चनुपर्ने देखिन्छ । भएसम्मको स्रोत साधनको प्रयोग भएको छ । शव वाहनको आवश्यक्ता छ । जिल्लाको नगरपालिका भयो । नगर र जिल्ला अस्पताल र नगर कार्यपालिकाको प्रष्ट हुनुपर्छ । सहयोग नभएको जस्तो आभाष हुँदैन । एक अर्काको समन्वय नभए समस्या छ । सबैतिरका विरामी आइरहेका छन् । समन्वयमा बुझाई फरक नपरोस् ।
रामकुमार गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत चौरजहारी नगरपालिका
चौरजहारी अस्पतालका साथै नगरपालिकाले ३ ठाउँमा १५/१५ बेडका आइसोलेसन बनाएकाे छ । खोलागाउँ, कोटजहारी र सेवा केन्द्रमा आइसोलेसन सञ्चालनमा छन् । चौरजहारी अस्पतालमा १८ बेड कोरोना संक्रमितकै लागि छन् । नगरका आइसोलेसनमा अक्सिजन सिलिन्डर, कन्सन्टेटर छन् । यद्यपी त्यो पर्याप्त छैन । जनशक्ति अभाव छ । चौरजहारी अस्पतालमै पनि जनशक्ती अभाव छ । बेड बढाउनुपर्ने हुन सक्छ । स्वास्थ्यकर्मीले भत्ता नपाएको कुरा बेला बेला जोडतोडले उठिरहन्छ । त्यसको सम्बोधन गर्न सकिएको छैन ।
विष्णुबहादुर बुढाथोकी निमित्त स्वास्थ्य व्यवस्थापक, स्वास्थ्य सेवा कार्यालय
अक्सिजन सिलिन्डर ओसारपसारका लागि गाडिको व्यवस्था भयो । सिलिन्डर ओसारपासर भइरहेको छ । आवश्यक कर्मचारी राखिएको छ । स्वास्थ्य सेवा कार्यालय सञ्चालन गर्ने गरी घरभाडाको सम्झौता भयो । शव वाहन र एम्बुलेन्स खरिद प्रक्रिया अघि बढेको छ । अस्पताल भित्रै संक्रमितका लागि ५९ बेड तयार भइसकेको छ । बेड अभावले अरु राखिएको छैन । ठाउँ बनाइसकेको छ । बाँसको टहरा बनाएर सामान व्यवस्थापन भइरहेको छ । जुम्लाबाट स्वास्थ्यकर्मीको टोली आउँदै छ । २ जना डाक्टरको नेतृत्वमा अस्पतालको टोली खटिरहेको छ । भेन्टिलेटर सञ्चालनको तयारी भएको छ । त्यसका लागि काम भइरहेको छ । अब जिल्ला अस्पतालमा अक्सिजनका ५१ सिलिन्डर छन् । त्यसबाट उपचार सहज बनाउने प्रयास भइरहेको छ ।
राजकुमार भुजेल डाक्टर, जिल्ला अस्पताल
अस्पतालको आइसोलेसनमा ९ जना उपचाररत हुनुहुन्छ । जनशक्ति अभाव छ । स्वयसेवक रुपमा काम गरिराखेका छौ । अधिकाश अक्सिजनको मात्रा ५० देखि ६० झरेका भएका विरामी आउछन् । अक्सिजन व्यवस्था नभए समस्या छ । डाक्टर र स्टाफ नर्स चाहिएको छ । प्रदेशले २ जना स्वास्थ्यकर्मी पठाइदिने भएको छ । प्रतिनिधि सभा सदस्य ज्यु फिल्डमा आउनुभयो । हौसला बढेको छ ।
क्षमताले भ्याएसम्म काम गरिरहेका छौं । रेम्डिसिभिर लगायतका औषधी चाहियो । यसमा केही पहल गर्नुपर्ने छ । सुत्केरी गराउन हरेक दिन सल्यक्रिया गर्नुपर्ने छ । प्रदेशबाट डाक्टर नपठाए समस्या हुन्छ । ३ जना डाक्टरले पनि पुगिरहेकाे छैन । पछिल्लो समय स्थानीय तहले गरिरहेको प्रयास सह्रानिय छ । जनशक्ति भए अरु व्यवस्थापन सहितको उपचार गर्न सकिन्छ ।
रमेश पुन मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत त्रिवेणि गाउँपालिका
२० बेडको आइसोलेसन अस्पताल खारानेटामा सञ्चालनमा ल्याइएको छ । ८ वटा अक्सिजन कन्सन्टेटर छन् । १२ वटा पल्स असिक्मि६र छन् । सिलिन्डरवाला अक्सिजनको समस्या छ । १०१ जनामा परीक्षण गरियो । ६२ जना संक्रमित पुष्टि भए । ४३ जना सक्रिय संक्रमित छन् । १९ जना डिस्चार्ज भएका छन् । एक जना आइसोलेसन भर्ना गरिएको छ । अरु घरमै छन् । झुल्नेटामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । हालसम्म ४५ लाख खर्च भएको छ । गाउँपालिका अस्पतालमा विजुलीको समस्या छ ।
सोलार प्यानल जडान हुँदै छ । गाउँपलिकामा रकमान्तरका लागि रकम छैन । बजेटको स्रोत छैन । समस्या भएको छ । पर्याप्त मात्रामा बेड छैन । अक्सिजन सिलिन्डर छैन । पिपिई, पर्याप्त छैन् क्वारेन्टाइनको व्यवस्था छैन । जनशक्तिको अभाव छ । डाक्टरदेखि अरु सबै स्वास्थ्यकर्मीको अभाव छ । कर्मचारी र कुरुवाको बस्ने ठाउँ छैन । जोखिम भत्ता र बीमा नहुँदा समस्या छ । औषधी र अक्सिजनको सामग्रीको अभाव छ । जनशक्ति व्यवस्थापन गर्ने, परीक्षणको दायरा बढाउने कुरा छ । स्वास्थ्यकर्मी, संक्रमित र कुरुवाको खाना खाजाको व्यवस्था गर्ने योजना छ ।
भूपालसिङ विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत सानीभेरी गाउँपालिका
७० जनामा परीक्षण गर्दा परीक्षण गर्दा ४२ जनामा संक्रमण देखियो । सबै होम आइसोलेसनमा छन् । १० र १२ गरी २२ बेडको आइसोलेसन तयार बनाइएको छ । बेडहरु आज पुग्दैछन् । बेड मिलाउँदै छौ । स्वास्थ्यकर्मीलाई परिचालन भएकै छ । अक्सिजन छैन । ५ सिलिन्डर मध्य ४ रित्ता छन् । सिलिदन्डर खोज्दा पनि पाइएन । कन्सन्टेटर पनि पाइएको छैन । एक जना डाक्टर छन् । अर्को एक जना डाक्टर रेडियोग्राफर, रेडियोलोजी छैन । बत्ति आइसोलेसनमा जोड्छौं । जोखिम भत्ता छैन ।
संघीय सरकारले निर्णय गरेपनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइएको छैन । बजेट अभावमा हामीले यो समस्या व्यहोरीरहेका हौं । निषेधाज्ञा, लकडाउन गर्न ढिला भो की जस्तो महसुस भएको छ । थप परीक्षण गर्ने किट छैन । विवाह, अरु धार्मिक कार्य धेरै भए । यसले पनि फैलिएको सम्भावना छ । सबै परीक्षण गर्न नपाएपनि जोखिम भएका धेरैलाई परीक्षण गर्न पाएपनि राम्रो हुने थियो । स्वास्थ्यकर्मी र महत्वपूर्ण सामग्री छैनन् ।
ज्ञानबहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बाँफिकोट गाउँपालिका
१५ बेडको आइसोलसन बनाइएको छ । ४ नम्बर वडा स्थित स्यार्पू शिक्षा क्याम्पसमा १० र छिन्खेतमा ५ बेडको आइसोलेसन तयार भएको छ । डाक्टर नियुक्त गर्ने तयारी सफल भएन । डाक्टर सम्पर्कमा आउनुभएन । २ जना स्टाफ नर्स नियुक्तिको तयारी छ । अक्सिजन सिलिन्डर छैन । ६ कन्सन्टेटर आउँदै छन् । पिपिई सेट छन् । गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको छ । १ जना निको हुनुभयो । २ जना होम आइसोलेसनमा हुनुहुन्छ । २ जना जिल्ला अस्पतालमा उपचाररत हुनुहुन्छ । समस्या बढ्दै गए थेग्न सकिने अवस्था छैन ।