Kakhara सबैको खबर सम्पूर्ण खबर
कालो झण्डाको कौतुहलतादेखि मन्त्री सम्मको यात्रा
३२ वर्षपछि त्यही बालकको अब सत्तारोहन भएको छ । निर्दलिय व्यवस्थाका विरुद्ध थालिएको आन्दोलन हुँदै दश वर्षे जनयुद्धका अनेक भूमिका निर्वाह गरेका शर्मा कठिन परिस्थितिमा मन्त्री बन्नुभएको छ ।

२०४६ साल चैत २३ गते विहान विद्यालय जाने बाटोमा कालो झण्डा हटाउँदै गरेका प्रहरी सहितको एउटा दृश्य देखिन्छ । २२ गते राती विद्यालय जाने बाटोमा बाँसको अग्लो लिंगोमा कसैले कालो झण्डा राखेको हुन्छ । सबैले देख्ने गरी राखिएको उक्त कालो झण्डा विहान प्रहरी आएर लिंगो सहित हटाउछन् । यो सबै दृश्य एक बालकले देख्छ । ६ कक्षामा पढ्ने १२ वर्षको एक बालकको मानसपटलमा त्यो सबै दृश्य घुम्छ । दृश्य घुम्दैन मात्रै गम्भिर प्रश्न पनि जन्मिन्छ । कौतुहलता पैदा हुन्छ । कालो झण्डा किन राखिएको हो र किन फालियो, बालक यस्तै प्रश्न गर्दै विद्यालय पुग्छ । विद्यालय पुगेपछि उसले बुझ्छ, त्यो कालो झण्डा निर्दलिय व्यवस्थाका विरुद्ध राखिएको थियो । देशमा बहुदल आउनुपर्छ भन्ने माग सहित तत्कालिन निर्दलिय व्यवस्थाका विरुद्ध त्यो कालो झण्डा राखिएको थियो । त्यो बालक त्यही हो, जो वैशाख २९ गते कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भयो । ‘अनल’ नामले परिचित गोपाल शर्मा त्यही बालक हुनुहुन्थ्यो जो २०४६ सालको चैत २३ गतेको कालो झण्डा राखिनु र फालिनुका कारण खोज्दै हुनुहुन्थ्यो ।

२३ गते नै कालो झण्डा राख्नु र फाल्नुका कारण बुझेका शर्मा २४ गते को जनआन्दोलनमा सहभागि हुनुभयो । विद्यालयका शिक्षक र अरु विद्यार्थीसित आन्दोलनमा सहभागि भएपछि, शिक्षक र अरु वक्ताका कुरा सुनेपछि उहाँमा राजनीति चेत पैदा भयो । त्यसपछि उहाँ निरन्तर राजनीतिमा हुनुहुन्छ । १२ वर्षको एउटा बालक २०४६ सालको चैत २४ पछि हरेक दिन आन्दोलनमा उत्रियो, जुन आन्दोलन व्यवस्थाका विरुद्ध थियो । निर्दलियताको विरुद्ध थियो । बहुदलिय व्यवस्थाका लागि एउटा बालक नारा लगाएर, नारा भट्याएर, डोको र पानीका धाराका टाउकामा चढेर चर्का चर्का भाषण गर्यो । ३२ वर्षपछि त्यही बालकको अब सत्तारोहन भएको छ । निर्दलिय व्यवस्थाका विरुद्ध थालिएको आन्दोलन हुँदै दश वर्षे जनयुद्धका अनेक भूमिका निर्वाह गरेका शर्मा कठिन परिस्थितिमा मन्त्री बन्नुभएको छ । कालो झण्डादेखि सुरु भएको उहाँको राजनीतिक यात्रा घुमाउरो छ । अनेक क्षेत्र र फिल्डमा खट्दै उहाँ हाल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा रुकुम पश्चिम जिल्लाको अध्यक्ष हुनुहुन्छ ।

कालो झण्डादेखि सुरु भएको शर्माको राजनीतिक यात्रा त्यतिबेलै सुरु भएको हो । सोही वर्ष उहाँ अखिल क्रान्तिकारीको शितल माविको सह मावि इकाई अध्यक्ष बन्नुभयो । उमेरले सानो भएकाले उहाँ मावि इकाई कमिटिमा समेटिनु भएन । सह इकाईमा उहाँ अध्यक्ष बन्नुभयो । त्यसपछि निरन्तर विद्यार्थी संगठन हुँदै पार्टीको राजनीतिमा उहाँ क्रियाशिल हुनुहुन्छ ।  

शर्माको राजनीतिक यात्रा 
२०४६ सालमा कक्षा ६ देखि नै उहाँको राजनीति यात्रा सुरु भयो । सोही वर्ष माविको सह इकाई अध्यक्ष भएका शर्मा २०४७ सालमा विद्यार्थी संगठन मावि इकाई अध्यक्ष हुनुभयो । २०५१ सालमा विद्यार्थीको जिल्ला समिति सदस्य बनेका शर्मा २ वर्ष पछि अर्थात २०५३ मा विद्यार्थीको रुकुम जिल्ला अध्यक्ष बन्नुभयो । २०५५ सालमा उहाँ नेकपा माओवादीको जिल्ला समिति सदस्य बन्नुभएको थियो । विद्यार्थीमा सक्रिय रहेका उहाँलाई पार्टीले जिल्ला समितिमा ल्याएको थियो । जतिबेला उहाँ पार्टीको जिल्ला समितिमा रहेका सबै भन्दा कान्छो उमेरको जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । २०५६ सालमा रुकुम र सल्यानका केही गाविस मिलाएर बनाएको विशेष एरीया थियो । सोही एरीयाको इन्चार्जको जिम्मेवारी उहाँले पाउनुभएको थियो र कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । उहाँ सेक्रेटरी भएकै समयमा खारा वस्ति जलाइएको थियो । उक्त वस्ति जलेपछि जनताको राहत र उद्दारमा उहाँ सक्रिय भएर लाग्नुभयो । त्यसमा अरु नेता, कार्यकतालाई परिचालन गर्नुभयो । जनताको सुख, दुखमा निरन्तर साथ, सहयोगमा जुट्नुभयो ।

त्यतिबेलासम्म उहाँ विद्यार्थीको केन्द्रीय समिति सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत भइसक्नुभएको थियो । उहाँ २०५६ सालमा विद्यार्थीको केन्द्रीय उपाध्यक्ष बन्नुभएको थियो । २०५७ मा विद्यार्थीले विभाजन गरेका तीन केन्द्रमध्य पश्चिम उप केन्द्रको इन्चार्जसिप उहाँकै थियो । सोही सालमा उहाँ पार्टीको पनि उप व्यूरो सदस्य बन्नुभएको थियो । भेरी–कर्णाली उप व्यूरो सदस्य भएर उहाँले काम गर्नुभयो । २०५८ मा पार्टीले उप व्युरोलाई स्वःत व्यूरो बनाएपछि उहाँ पनि पार्टीको व्यूरो समिति सदस्य बन्नुभयो । २०५८ मा उहाँ विशेष जिल्लाको इन्चार्ज हुनुभयो । २०५९ मा बाँके, बर्दिया, दाङ, सल्यान र सुर्खेतका केही भाग मिलाएर बनाइएको विशेष जिल्लाको इन्चार्जसिप शर्माकै थियो । सोही सालमा उहाँ विशेष जिल्लाको नेतृत्व गर्दै ४ महिना गण्डक अभियानमा जानुभयो । उहाँ अभियानमा गएकै समयमा पार्टीले उहाँको सरुवा बाँके, बर्दियाको इन्चार्जको रुपमा गरिदियो र २०६० देखि २०६२ सालसम्म उहाँ त्यही खटेर पार्टीका निम्ति काम गर्नुभयो । २०६२ सालमा जनआन्दोलनको भव्य तयारी भइरहेको थियो ।

त्यही समयमा फेरि उहाँको जिम्मेवारी आधार इलाकामा आइपर्यो । २०६२ देखि २०६५ सम्म उहाँ रुकुमको सेक्रेटरी र इन्चार्ज भएर काम गर्नुभयो । २०६५ सालदेखि २०६९ सालसम्म उहाँ मगरात राज्यको कार्यालय सचिव भएर काम गर्नुभयो । २०६९ पछि शर्मा निरन्तर रुकुम जिल्लामै कार्यरत रहनु भएको छ । २०७१ सालमा भएको पार्टीको जिल्ला सम्मेलनले शर्मालाई अध्यक्षमा चयन गरेको थियो । त्यस यता उहाँ पार्टीको जिल्ला नेतृत्वमै हुनुहुन्छ । चौरजहारी नगरपालिका ५, का स्थायी बासिन्दा शर्माको परिवार नै जनयुद्धमा योगदान गरेको परिवार हो । शान्ति प्रक्रियापछि जिल्लामा भएका सबै निर्वाचन उहाँको प्रत्यक्ष परोक्ष, नेतृत्व थियो । २०६४ को पहिलो संविधान सभाको निर्वाचन, २०७० सालको अर्को संविधान सभाको निर्वाचन, २०७४ को स्थानीय तथा प्रदेश र संघको निर्वाचन बेला उहाँ जिल्लाको नेतृत्वमा हुनुहुन्थ्यो । 

बजेट निर्माणको चरणमा रहेकाले कर्णालीको सबै क्षेत्र, भूगोल समेटिने गरी बजेटिकरण र योजना बन्ने उहाँले बताउनुभयो । माग र आवश्यक्तामा जोडिएर प्रदेश सरकार अघि बढ्ने भन्दै उहाँले केही दिनमा कार्य योजना बनाएरै काममा लाग्ने बताउनुभयो । 

अबको प्राथमिकता 
साेमबार शर्माले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ लिनुभएको छ । रुकुम पश्चिम प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका शर्मा पहिलो पटक मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसका खड्ग डाँगीलाई भारी मतान्तरमा हराउँदै उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैलदो कोरोना महामारीका बीचमा उहाँले यो अवसर पाउनुभएको छ । यो उहाँका लागि अवसर र चुनौती दुवै हो । विशिष्ट खालको परिवेशमा आफूले यो जिम्मेवारी सम्हालेको उहाँको भनाई छ । ‘पार्टीको निर्णय अनुसार आजदेखि मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभ चिन्तक राम्रो गर्नका लागि शुभेच्क्षा प्रकट गरिरहनु भएको छ,’ शर्माले भन्नुभयो, ‘सकेसम्म राम्रो गर्ने प्रयत्न हुन्छ ।’ जनताको जिउ जोगाउने कार्य पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

कोरोना महामारी व्यापक बन्दै गइरहेका बेला अस्पताल निर्माण, त्यसका लागि आवश्यक सामग्री जोहो तथा जनशक्ति व्यवस्थापनमा खास ध्यान दिइने उहाँको भनाई छ । पहिला जनताको जिउ जोगाउनका लागि हरसम्भव प्रयास हुने शर्माले बताउनुभयो । त्यसपछि कर्णालीको आवश्यक्ता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण, बजेट बाँडफाँड तथा कार्यान्वय गर्ने उहाँले बताउनुभयो । यसमा खास गरी दुई कुरामा ध्यान दिने योजना उहाँको छ । एउटा भौतिक पूर्वाधार निर्माण र अर्को मानविय विकास । यी दुवैलाई सँगसँगै लैजाने गरी योजना बनाउने र त्यसका लागि आफूले सक्दो पहल, प्रयास गर्ने प्रतिबद्धता उहाँको छ । बजेट बनेपनि कार्यान्वयमा समस्या देख्नु भएका उहाँले कार्यान्वयन हुने गरी बजेट विनियोजन गर्ने र कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

बजेट निर्माणको चरणमा रहेकाले कर्णालीको सबै क्षेत्र, भूगोल समेटिने गरी बजेटिकरण र योजना बन्ने उहाँले बताउनुभयो । माग र आवश्यक्तामा जोडिएर प्रदेश सरकार अघि बढ्ने भन्दै उहाँले केही दिनमा कार्य योजना बनाएरै काममा लाग्ने बताउनुभयो । 


   

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update