
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित सानीभेरी प्रिमियर लिग एसपिएलको उपाधि टिम भिमराज तुलसीपुरले जितेको छ । आइतबार वडा नम्बर ३ को बेल्टापु रङ्गशालामा भएको फाइनलमा रुकुम पश्चिमको चौरजहारीलाई ८७ रनले पराजित गर्दै टिम भिमराजले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङको निर्णय लिएको टिम भिमराजले निर्धारित १५ ओभरको खेलमा १ सय ४८ रन बनाएको थियो । उसका लागि कप्तान शङ्कर बुढाले ४७ बलमा ६९ रनको कप्तानी पारी खेलेका थिए । १ सय ४९ रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रिएको चौरजहारी ६१ रनमा समेटिएको थियो । बलिङ तर्फ टिम भिमराजका करण कुमारले ह्याट्रिक लिएका थिए ।
विजेता टिम भिमराजले १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चौरजहारीले ६० हजारमा चित्त बुझाएको छ भने सान्त्वना हुने २ टिम सानीभेरी र टिम जाजरकोट जेवाइसीले समान १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगिताको प्लेयर अफ द सिरिज टिम भिमराजका गोपाल केसी बनेका छन् । उनले नगद ५ हजार र ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको वेस्ट बलर चौरजहारीका कप्तान विवश गिरी घोषित हुँदा वेस्ट ब्याट्सम्यान टिम भिमराजका कप्तान शङ्कर बुढा घोषित भए । उनीहरूले ट्रफि सहित समान २ हजार नगद पुरस्कार पाएका छन् । सबै खेलका म्यान अफ द म्याचलाई १ हजार नगद र मेडल प्रदान गरिएको थियो ।
खेल खुला पालिका स्तरीय रहेको थियो भने प्रत्येक टिमले पालिका बाहिरका तीन जना खेलाडी राख्न पाएका थिए । प्रतियोगितामा टेनिस बल खेलाइएको थियो । पुरस्कार राशिका हिसाबले यो जिल्लाको हालसम्मको ठुलो क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता देश तथा विदेशमा रहेका व्यक्तिहरूसँग सहयोग जुटाएर आयोजना गरिएको थियो ।।