
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच नगर प्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाहीले संयूक्त रुपमा पानसमा वत्ति बालेर वडा कार्यालय भनव उद्घाटन गर्नुभएको हो । वडा कार्यालय भवन निर्माणको जिम्मा विके विल्र्डस निर्माण प्रालीले लिएको थियो ।
निर्माण प्रालीले समयमै वडा कार्यालयको भनव निर्माण गरेर हस्तान्तरण गरेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रालीले १ करोड २५ लाख लागतमा वडा कार्यालयको भनव निर्माण गरेको हो । बाँकी घेराबार, अन्य संरचना निर्माणको लागि ५० लाख गरेर जम्मा वडा कार्यालय भवन निर्माणको लागि १ करोड ८० लाख रुपैयाँ लगानी भएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । घेराबार र अन्य बाँकी संरचनाहरु भने निर्माण हुन बाँकी छन् । वडा कार्यालयको भवन उद्घाटन भएसँगै अव वडाको कामकाज गर्न सहज हुने वडाले जनाएको छ ।
७ नम्बर वडा अध्यक्ष अमृत बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उप प्रमुख धनकुमारी शाहीको विषेश आतिथ्यता रहेकामा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, अन्य वडाका वडा अध्यक्षहरु, पालिकामा कार्यरत कर्मचारी स्थानीयबारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।