
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ नुनथलामा रहेको आधारभूत सहरी स्वास्थ्य केन्द्रमा लगाइएको ताला नगर प्रहरीले तोडेको छ । घरधनीले सम्झौता बमोजिम आफूले पाउनुपर्ने सेवा सुविधा प्राप्त नगरेको भन्दै शुक्रवार स्वास्थ्य चौकीमा ताला लगाएका थिए । सोही स्थानका वीरबहादुर बुढाले ८ वर्षअघि वडा कार्यालयलाई जग्गा उपलब्ध गराउनुभएको थियो ।
‘वडा कार्यालयलाई ८ वर्षअघि मैले ३ सय वर्ग मिटर जग्गा स्वास्थ्य चौकीमा एक जना कार्यालय सहयोगीको रोजगार दिने सम्झौता बमोजिम उपलब्ध बनाएको थिएँ, अहिलेसम्म सम्झौता अनुसार काम भएको छैन जग्गा धनी वीरबहादुर बुढाले भन्नुभयो ।´ पटक पटक नगरपालिका जाँदा पनि आफ्नो माग सम्बोधन नभएको उहाँको भनाई छ ।
गत असारमा पनि सम्झौता अनुसारको माग सम्बोधन नभएको भन्दै स्वास्थ्य चौकीमा ताला लगाइएको थियो । वडाले केही समय पर्खिनुहोस्, तपाईँको माग सम्बोधन गर्छौँ भनेपछि पछि हटेर ताला खोलेको तर त्यसपछि पनि माग सम्बोधन नभएपछि गत शुक्रवार ताला लगाएको बुढाले बताउनुभयो । यसबारे मुसिकोट नगरपालिकामा रहेको न्यायिक समितिलाई पनि ६/७ महिना अघि नै जानकारी बनाएको उहाँको भनाई छ ।
नगरपालिकाको निर्देशनमा आज नगर प्रहरी आएर आफ्नो मागको बेवास्ता गर्दै स्वास्थ्य चौकीमा लगाएको ताला तोडेको उहाँको भनाई छ । सम्झौता अनुसार एक जनालाई कार्यालय सहयोगी राख्नुपर्ने, की हाल नगरपालिकामा चलेको मूल्य बराबरको रकम उपलब्ध बनाउनुपर्ने बुढाको माग छ ।
हाल स्वास्थ्य चौकीमा एक जना स्वास्थ्यकर्मी (सिएमए) र कार्यालय सहयोगी रहेका छन् । वडा कार्यालयले ७ महिना अघि एक जना कार्यालय सहयोगी नियुक्ति गरिसकेको छ ।
वडा कार्यालयले भने उक्त माग पूरा गर्न नसकिने जनाएको छ । ‘पहिलेको सम्झौता हामी,लाई थाहा छैन कार्यान्वयन गर्न सक्ने अवस्थामा पनि छैनौँ, वडाले गर्ने अन्य सहयोग हुन्छ, यसको छलफल र निकास अव नगरपालिका मै हुन्छ ’ वडा अध्यक्ष जयबहादुर थापाले भन्नुभयो ।
आज नगर प्रहरीले ताला तोडेर स्वास्थ्य चौकी सुचारु गरेको र छलफलका लागि जग्गा धनीलाई नगरपालिका बोलाइएको उहाँको भनाई छ । तीन कोठा सहितको स्वास्थ्य चौकी निर्माणमा गर्न करिब ४० लाख बजेट खर्च भएको बताएको छ । पाँच दिनसम्म स्वास्थ्य चौकीमा ताला लाग्दा बिरामी मर्कामा परेका थिए । बिरामी स्वास्थ्य चौकी आएर उपचार नगराएरै घर फर्किने अवस्था थियो ।