Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा असोज ११ देखि स्यार्पू पर्यटन मेला लाग्ने 
स्यार्पू ताल ।

२०६७ साल देखि हरेक वर्ष लाग्दै आएको स्यार्पू पर्यटन मेला यस वर्ष पनि असोज ११ गतेदेखि १५ गतेसम्म लाग्ने भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा अवस्थित स्यार्पू ताल नजिकै केही वर्ष यता मेला लाग्दै आएको छ । स्यार्पू तालको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने उद्देश्यले हरेक वर्ष स्यार्पूमा पर्यटन मेला लाग्दै आएको छ । यस वर्ष पनि असोज ११ गतेदेखि १५ गतेसम्म १५ औँ स्यार्पू पर्यटन मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।

मेलामा महिला तथा पुरुष भलिबल, पौडी रेस र घैँटोफोर प्रतियोगिताको आयोजना गरिएको वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टिकाराम मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार ३ नम्बर वडामा रहेको वडा युवा तथा खेलकुद विकास समितिले खेलकुद प्रतियोगिता आयोजना  गरेको हो । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५, दोस्रो हुने टिमले नगद ७० हजार पाँच सय ५५, तेस्रो हुने टिमले नगद ४० हजार पाँच सय ५५ र सान्त्वना हुने टिमले १४ हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने वडा युवा तथा खेलकुद विकास समितिका सचिव आदित्य कुमार मल्लले जानकारी दिनुभयो ।

महिला भलिबल प्रतियोगितातर्फ प्रथम हुने टिमले नगद २० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र  प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद १५ हजार पाँच सय ५५ र  तेस्रो हुने टिमले नगद दश हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै स्यार्पू तालमा खुला पौडी रेस प्रतियोगिताको पनि आयोजना गरिएको छ । पौडी रेस प्रतियोगितामा प्रथम हुनेले नगद चार हजार, दोस्रो हुनेले नगद तीन हजार तथा तेस्रो हुनेले नगद दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

त्यसै गरी घैँटोफोर प्रतियोगितामा विजेतालाई नगद दुई हजार पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।  विधागततर्फ पनि  भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरलाई एक हजार पाँच सय रुपैयाँका साथमा ट्रफी, वेष्ट स्पाइकरलाई एक हजार, वेष्ट सर्भर, वेष्ट लिवेरो, वेष्ट ब्लकर, वेष्ट सेटरलाई समान एक/एक हजार रुपैयाँ पुरस्कार सहित ट्रफीको व्यवस्था गरिएको छ ।

महिला भलिबल तर्फ उत्कृष्ट खेलाडीलाई मात्र पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई नगद एक हजार रुपैयाँको साथमा प्रमाणपत्रको व्यवस्था गरिएको र वडा युवा तथा खेलकुद विकास  समिति बाँफिकोटले जनाएको छ । पछिल्लो समय स्यार्प ताल अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update