Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ७ को वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाहमा सहज

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन भएसँगै अव वडाको कामकाज नयाँ पक्की भवनबाट सञ्चालन भएको हो । 

स्थानीय उपभोक्ता निर्माण समितिले भवन निर्माणको जिम्मा लिएको थिए । भवनको काम पुसबाट सुरु भई गत आर्थिक वर्षको असार मसान्तसम्म अर्थात् समयमै काम सकिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको ५० लाख बजेटमा दुई तलाको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय भवन शौचालय, सभा हलसहित ५ कोठाको निर्माण गरिएको छ । यसभन्दा अघि वडा कार्यालयले २०८२ कात्तिक गतेको भूकम्प पश्चात् अस्थायी आवासबाटै वडावासीलाई सेवा दिँदै आइरहेको थियो ।

वडा कार्यालयको आफै भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज भएको वडा कार्यालयले जनाएको छ ।गत वर्ष भवन निर्माणको लागि स्थानीय, शिवहरि खड्काले ५ सय ५० वर्ग मिटर, टिकाराम खत्रीले ७ सय र नेपबहादुर खड्काले २ सय ५० गरेर १५ सय वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध बनाएका थिए । 

वडा अध्यक्ष खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीको विशेष आतिथ्यता  रहेको थियो । त्यसै राजनीति दलका प्रमुख, शिक्षक, स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव पवित्रा खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update