रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयमा ताला लगाइएको छ । वडा कार्यालयले खानेपानी उपभोक्ता समितिलाई आयोजना निर्माणको लागि सिफारिस नदिएपछि उपभोक्ता समितिले आज वडा कार्यालयमा ताला लगाएको हो । सबैका लागि दिगो खानेपानी तथा सरसफाइ(सुस्वा) परियोजना मार्फत निर्माण हुने एक घर एक धारा कार्यक्रम अन्तर्गत वडा नम्बर ८ छनोटमा परेको थियो । तर समिति विवादका कारण सम्झौता हुन सकेको छैन ।
स्थानीय सिस्नेरी बयलडाँडा सरसफाइ खानेपानी उपभोक्ता समितिले योजना सम्झौता गर्नको लागि वडामा पटक पटक सिफारिस लिन जाँदा वडा कार्यालयले सिफारिस नदिएपछि वडा कार्यालयमा ताला लगाउन बाध्य भएको उपभोक्ता समितिका अध्यक्ष डेगबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले वडा अध्यक्षले समितिमा राख्न चाहेको व्यक्ति समितिमा नपरेपछि पटक पटक वडा कार्यालय धाउँदा पनि सिफारिस नपाएको गुनासो छ ।
‘‘पुरानै समितिले काम गर्न खोज्दा हामीलाई वडाले सिफारिस दिएको छैन, योजना नै फिर्ता जाने अवस्था भयो यसको समस्या समाधानको लागि पनि वडा कार्यालयमा ताला लगाएका हौँ उहाँले भन्नुभयो ।’’पालिका उपाध्यक्ष राजकुमारी रेउले समेत आएर गठन गरेको उपभोक्ता समितिलाई आफूले भनेको व्यक्ति नपरेपछि वडा अध्यक्ष नन्दराम खड्काले सिफारिस दिन नमानेको उहाँको आरोप छ । समस्याको हल नभएसम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने सिस्नेरी बयलडाँडा सरसफाइ खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
वडा अध्यक्ष नन्दराम खड्काले भने आम भेलाबाट छानिएको समितिलाई नस्विकारेर अर्को उपभोक्ता समिति निर्माण गर्दा विवाद भएको बताउनुभयो । एक महिना पहिले योजना निर्माणको लागि समिति निर्माण भएको र अर्को समिति निर्माण गरी काम गर्दा विवाद हुने भएकाले वडाले सिफारिस नदिएको उहाँको भनाइ छ । अव फेरी आम भेला मार्फत समिति निर्माण गरी समस्या हल गरिने वडा अध्यक्ष खड्काले बताउनुभयो ।
उक्त वडामा सवैका लागि दिगो खानेपानी सरसफाइ(सुस्वा) परियोजना पालिकाको साझेदारीमा करिब ३१ लाख बजेटमा एक घर एक धारा निर्माण कार्यक्रम परेको छ । यो योजना निर्माण भयो भने यहाँका करिब ३० देखि ४० घर लाभान्वित हुने बताएको छ ।
तर समिति विवादका कारण परियोजना नै फिर्ता जाने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् । जतिसक्दो छिटो समस्याको हल गरेर योजना निर्माणको काम सुरु गर्नुपर्ने स्थानीय माग रहेको छ । व्यक्तिगत स्वार्थका कारण योजना फिर्ता जान नहुने स्थानीयको माग छ ।





-1759842583.jpg)