कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नको लागी राजनीतिक पक्ष राज्यको महत्त्वपूर्ण अङ्ग हो । खास गरी व्यवस्थापिका, कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य सञ्चालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्त्वपूर्ण भूमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त राख्न , सुशासन कायम गर्न समेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरूको जरुरत पर्दछ । त्यसैले राजनीति वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिँडाउने वा डोराउने साधन हो भन्न सकिन्छ । अहिलेको युग जटिल सामाजिक संरचना भएको युग हो यसलाई व्यवस्थित रूपमा समय सापेक्ष रूपबाट अगाडी बढाउन , समाजमा रहेका तमाम वर्गहरूको जीवन निर्वाहलाई सरल एवं सहज बनाउन राज्य संयन्त्र चुस्त, जनउत्तरदायी , क्रियाशील, जनमुखी, विकाश प्रेमी, विकेन्द्रिकृत, न्यायिक, सहभागितामूलक, प्रजातान्त्रिक, पारदर्शी, भ्रष्टाचारमुक्त, सेवामुखी हुनु आवश्यक छ । कुनै पनि देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनीतिक गतिविधिमा निर्भर गर्दछ । राजनीति नै देश निर्माण गर्ने महत्त्वपूर्ण औजार वा साधन हो । यसलाई राज्यको हरेक पक्षको विकास गर्ने माध्यमको रूपमा लिइने हुनाले यसलाई देशको मेरुदण्ड, जीवन रक्तको रूपमा लिन सकिन्छ । वास्तवमा राजनीतिलाई जनताको सेवा गर्ने शुद्ध सामाजिक सेवाको रूपमा जब सम्म हेरिँदैन, यसलाई केवल व्यक्तिगत आय आर्जनको माध्यमको रूपमा लिन खोजिन्छ तब सम्म देशमा जुनसुकै राजनैतिक व्यवस्था, राजनितीकवादहरु आए पनि यसले खासै समाज र जनताको जीवनस्तर र जीवनचर्यामा खासै ठुलो महत्त्व राख्न सक्दैन ।
नेपालको इतिहासलाई एक पटक फर्केर हेर्ने हो भने वि.सं. २००७ साल देखि धेरै परिवर्तनहरू पटक-पटक भएको पाउन सकिन्छ तापनि जनताको जीवनस्तर, सामाजिक -सांस्कृतिक परिवर्तनहरू खासै उल्लेखनीय रूपमा हुन सकेको हामी देख्न सकिरहेका छैनौ । मूलतः जे जति राजनैतिक परिवर्तनहरू भयो त्यस पश्चात् परिवर्तनको लागी नेतृत्वदायी भूमिका खेलेका राजनैतिक दल र नेताहरू इमानदार एवं जनउत्तरदायी भएर जनताको विकास , निर्माणको काममा समर्पित हुनु भन्दा बढी कसरी व्यक्तिगत रूपमा आफ्नो आय आर्जनमा वृद्धि हुन्छ , कसरी आफ्ना सन्तति, परिवार, नातागोता, भाइ-भतिजाहरूको व्यक्तिगत जीवनलाई आर्थिक रूपले माथि उठाउन सकिन्छ त्यस तर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रस्ट देख्न सकिन्छ । देश भित्रै वा छिमेकी देशहरूसँग राष्ट्रिय महत्त्व राख्ने किसिमका सन्धि -सम्झौता, कुराहरू जे जति भए ती देश र जनताको हित भन्दा पनि व्यक्तिगत लाभ र सत्ता टिकाइरहने, कुर्ची जोगाई रहने कामको लागी दुरुपयोग गरेको पाइन्छ ।
राजनीतिमा लाग्नेहरूले अनिवार्य रूपमा सहायक पेसा वा व्यवसाय अङ्गालेको हुनु जरुरी छ । यदि कुनै पनि राजनीतिमा लागेको व्यक्तिसँग जीवन निर्वाहको लागी कुनै पेसा वा व्यवसाय छैन भने स्वाभाविक रूपमा उसले कुनै राजनैतिक लाभको पद पायो भने पदीय दुरुपयोग गरी आय-आर्जन गर्न खोज्ने सम्भावना बढी रहन्छ । त्यस्तै संसद् लगायत स्थानीय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार-प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसीन भइसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउन समेत पदीय दुरुपयोग गर्ने प्रमुख कारक तत्त्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागी चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सीमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरूले कडाइका साथ नियन्त्रण र नियमन गर्नु पर्ने हुन्छ ।
साँच्चिकै देशमा विकासको गतिलाई द्रुत रूपमा अगाडी बढाउने हो भने राजनैतिक नेताहरूले राजनीतिलाई समाजसेवाको रूपमा काम गर्ने र जसले भ्रष्टाचार गर्दछ त्यसलाई हदै सम्मको कानुनी कारबाही गर्ने व्यवस्था हुनु पर्दछ । यदि सरकारी वा सार्वजनिक संस्थाका कर्मचारी र कूटनीतिक नियोगमा काम गर्ने व्यक्ती भए सधैँको लागी सरकारी वा सार्वजनिक सेवामा कार्य गर्न वञ्चित गर्दै जेल सजाय र आर्थिक दण्ड-सजाय गर्ने, सांसद, मन्त्रीहरू वा अन्य राजनैतिक पदहरूमा कार्यरतले भ्रष्टाचार गरेमा जेल सजाय, आर्थिक दण्ड-सजाय एवं पुन राजनीतिक पदमा चुनिन पाउने अवसरबाट सधैँका लागी बन्देज गर्ने कानुनी व्यवस्था हुनु पर्दछ । राजनीतिमा आउने व्यक्ति व्यवस्थापन सङ्काय वा कानुनी सङ्कायमा अध्ययन गरेको आएमा अझै समाज परिवर्तन हुने छ ।
लेखक त्रिवेणी गाउँपालिका ३ का दीपक ओली नेविसंघ रूकुम पश्चिमकाे सदस्य हुनुहुन्छ ।





-1759842583.jpg)