Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यानका मदन केसीद्वारा महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा सुरु

सल्यानका एक युवाले लुम्बिनीबाट ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका छन् । सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय मदन केसीले बिहीबार बुद्धको जन्मस्थल लुम्बिनीबाट पदयात्रा सुरु गर्नुभएको हो । ‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’ सहित पदयात्रा सुरु गर्नुभएका केसीलाई उहाँका बुवा तेजु खत्री र आमा लक्ष्मी खत्रीले खादा–टिका लगाएर सफलताको कामता सहित बिदाई गर्नुभएको थियो । 

‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’सहित केसीले सुरु गरेको पदयात्रा ‘नेपालको माटो, नेपालको आवाज’, ‘गाउँ–गाउँ पुगौं, राष्ट्र बुझौं’, ‘मेरो पाँच वर्ष राष्ट्रको लागि’ भन्ने नाराहरु तय गरिएको छ । नागरिकहरु विकासको अवसरबाट वञ्चित रहेको र आफ्नो आवाज सुनाउन नसकेको अवस्थामा आफूले त्यसका लागि महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा सुरु गरेको उहाँले बताउनुभयो । 

उहाँले नेपाललाई पैदल हिँडेर बुझ्न चाहेको समेत बताउनुभयो । ड्रोन टेक्नोलोजी अध्ययन गर्नुभएका केसी विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले २०८७ साल चैत्र ४ गतेसम्म मुलुकभर पैदल हिड्ने बताउनुभयो । 

केसीले नेपालका सबै भूगोल हिमाल, पहाड, तराईका दुर्गम गाउँ तथा सबै ठाउँ पुगेर वास्तविक नेपाल बुझ्ने, गाउँ–गाउँबाट नागरिकका समस्या, सम्भावना र सपना संकलन गर्ने, इतिहास र संस्कृति संरक्षण गर्ने, स्थानीय इतिहास, भाषा, परम्परा जीवनशैली सवैको दस्तावेज बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । 

यस्तै, यात्रा मार्फत् नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने पनि उहाँको भनाई छ । उहाँका अनुसार यो अभियानसँग महान रिसर्च प्रालि जोडिएको र यसले अनुसन्धान, डेटा संकलन तथा डकुमेन्टेशनको काम समेत गर्ने छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update