Kakhara सबैको खबर सम्पूर्ण खबर
खड्का ‘छैटौँ डन बेल्ट’बाट दीक्षित  

तेक्वान्दो खेलाडी भद्रबहादुर खड्काले छैटौँ डन बेल्ट प्राप्त गर्नुभएको छ । काठमाडौँको सात दोबाटोमा रहेको नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा भएको दीक्षान्त समारोहमा उहाँ छैटौँ डन बेल्टबाट दीक्षित हुनुभएको हो । 

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १ का खड्काले शारीरिक तथा मौखिक परीक्षामा सफलता हात पार्दै नेपाल तेक्वान्दो सङ्घ र विश्व तेक्वान्दो संघको संयुक्त आयोजना भएको १६ औँ समूह दीक्षान्त कार्यक्रमबाट छैटौँ डन बेल्ट हात पार्नुभयो । यस पटक यो सफलता प्राप्त गर्ने उहाँ कर्णाली प्रदेशबाटै एक मात्र हुनुहुन्छ । 

यो सफलता आफ्नो जीवनका लागि निकै नै महत्त्वपूर्ण र हालसम्मको ठुलो भएको उहाँले बताउनुभयो । ‘कुनै पनि खेलाडीका लागि आफ्नो ग्रेडिङ निकै नै महत्त्वपूर्ण हुन्छ, आज मैले आफ्नो खेल जीवनको सर्वश्रेष्ठ सफलता हात पारेको छु,’ बेल्ट प्राप्त गरेपछि खड्काले भन्नुभयो ।

यसअघि उहाँले २०७६ सालमा पाँचौँ डन बेल्ट प्राप्त गर्नुभएको थियो । २०६० साल देखि तेक्वान्दो खेल्न सुरु गरेका खड्काले २०६४ सालमा ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । खड्का जिल्ला तेक्वान्दो सङ्घ रुकुम पश्चिमको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । 

खड्काले तेक्वान्दोको प्रशिक्षण सञ्चालन गरिरहनुभएको छ भने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर सफलता समेत प्राप्त गरिसक्नुभएको छ । साथै उहाँसँग विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको अनुभव समेत रहेको छ । जिल्लामा हालसम्म तेक्वान्दोलाई स्थापित गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update